खेलाडीले लगाएको आरोपप्रति नेपाल व्यायम मन्दिरको ध्यानाकर्षण

काठमाडौं । शारीरिक सुगठनको सवैभन्दा पुरानो संस्था नेपाल ब्यायम मन्दिरले १६औ धर्मश्रीका बारेमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । आइतबार व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले एक विज्ञप्ति जारी गर्दै मन्दिरको बदनाम गर्ने उदेश्यले आयोजकलाई निवेदन नदिइ गलत प्रचारप्रसार गरिएको बताए ।

‘नेपाल व्यायम मन्दिरको आयोजनामा २३ र २४ वैशाखमा आयोजना भएको १६औँ धर्मश्रीअन्तर्गत प्रथम पुरुष तथा महिला फिजिक्समा भएको निर्णय प्रति असन्तुष्ट भई केही व्यक्तिहरुमार्फत विभिन्न सञ्चार माध्यममा गरिएको समाचारप्रति नेपाल व्यायम मन्दिरको ध्यानाकर्षण भएको छ ’, विज्ञप्तिमा भनिएको छ ।

यसअघि प्रतियोगिता समापनको भोलिपल्ट सहभागी खेलाडीले पत्रकार सम्मेलन गर्दै आयोजकले आफ्ना खेलाडीलाई जिताउन धाँधली गरेको र खेलाडीप्रति अपहेलित व्यवहार गरेको आरोप लगाएका थिए ।

पत्रकार सम्मेलनमा सागर बिक, गोपाल लिम्बू, अवतार श्रेष्ठ, विशु राम केसी, अनुज मास्के, सनम मुलगुढी, पुजा श्रेष्ठ, विनिता राईलगायतको सहभागिता थियो ।

प्रतियोगितामा झापाका उमेश राईले १६औँ धर्मश्रीको उपाधि जितेका थिए । एनआरके फिटनेसका राईले झापा ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै १० लाख पुरस्कार प्राप्त गरेका हुन् । यस्तै, धिमाल दोस्रो हुँदा कृष्णबहादुर सूर्यवंशी तेस्रो भए ।

१,जेष्ठ.२०७९,आईतवार १४:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्