भाइरलम्यान पुण्य गौतम एमालेमा प्रवेश गर्दै, नेकपा एस कांग्रेसको पुच्छर बनेको आरोप

काठमाडौं । सामाजिक सञ्जालमा भाइरलम्यानका रुपमा समेत परिचित नेकपा एसका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश गर्ने भएका छन् । आज २ बजे काठमाडौंमा आयोजना हुन लागेको एमालेको जनसभाका क्रममा अध्यक्ष केपी ओलीले टीका लगाएर उनलाई एमालेमा भित्र्याउन लागेका हुन् ।

नेकपा एस कांग्रेसको पुच्छर भएको र एमसीसीमा डबल स्टान्ड लिएकाले आफूले सो पार्टी छोड्ने निर्णय गरेको गौतमले बताए । ‘हामी जे सोचेर त्यो पार्टीमा गएका थियौं, त्यो भएन’, उनले भने, ‘कांग्रेसको बी टिम जस्तो भएर बस्नु भनेको राजनीतिक आत्महत्यामात्रै हो ।’

एमालेमा आफूलाई केन्द्रीय सदस्यकै आश्वासन मिलेको गौतमको भनाइ छ । यद्यपि टुंगो लागिनसकेको उनले बताए । गौतमले आफूसँगै नेकपा एसका अन्य केही साथीहरुलाई एमाले प्रवेश गराउन लागेका छन् ।

गौतमले २०४५ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेका हुन् । उनले आफू २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय सहभागी रहेको बताउने गरेका छन् । पछि उनी एकता केन्द्र हुँदै माओवादीमा लागे ।

२०५२ सालमा माओवादीले गरेको जनयुद्धमा उनी पहिलो लटकै कार्यकर्ता थिए । लडाकुका रुपमा विभिन्न लडाईंको मोर्चामा समेत सहभागी भएका उनी शान्तिप्रक्रियापछि भने निस्क्रिय बने । ६८ सालमा सीपी मैनाली नेतृत्वको नेकपा मालेमा लागे र त्यसको पोलिटब्यूरो सदस्य बने । पछि गौतमसहित नेकपा मालेको एउटा हिस्सा माओवादीमा गाभियो ।

नेकपा एमाले र माओवादीको एकीकरणपछि बनेको ४४१ सदस्यि केन्द्रीय सदस्यमा गौतम पनि अटाएका थिए । तर सपथपत्रमा समेत हस्ताक्षर गरेपछि उनीसहित चारजनाको नाम काटिएको थियो ।

गौतमले राजनीतिशास्त्र र अर्थशास्त्रमा फस्र्ट डिभिजनमा स्नातकोत्तर पास गरेका छन् । पीएडी सकाएर कन्भोकेसनको पर्खाइमा छन् ।
गौतम विगतमा बौद्धिक व्यक्तिका रुपमा चिनिन्छ । अखबारहरुमा लेख पनि लेख्थे । तर पछिल्लो समय युट्यूवमा तात्तो न छारोका

अन्तर्वार्ताहरु दिएर भाइरलम्यानको छवि बनाएका छन् । गौतमले नेकपा एस छोड्नेबारे पार्टीका अध्यक्ष माधव नेपालसँग कुरा नगरेको बताए । ‘यो मेरो स्वविवेकको निर्णय हो, जानकारी दिइराख्नुपर्ने आवश्यकता छैन’, उनले भने ।

२७,बैशाख.२०७९,मंगलवार १४:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्