अध्ययनको निष्कर्ष- नेपालको आफ्नै ‘भुर्चअल’ मुद्रा सम्भव छ

काठमाडौं । नेपालको आफ्नै भर्चुअल मुद्रा (करेन्सी) सम्भव रहेको अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको छ । आफ्नै भर्चुअल मुद्रा -डिजिटल करेन्सी) ल्याउन नेपाल राष्ट्र बैंकले अध्ययन सुरु गरेको थियो ।

अध्ययनको प्रारम्भिक निष्कर्षमा नेपालको आफ्नै भर्चुअल मुद्रा बनाउन सम्भव रहेको देखिएको छ । तर यसका लागि धेरै कानूनी तथा नीतिगत व्यवस्थाहरु भने गर्नुपर्ने अध्ययनले औंल्याएको छ ।

पछिल्लो समय क्रिप्टोकरेन्सी जस्ता भर्चुअल मुद्राहरूलाई अवैध कारोबार भन्दै कारबाही सुरु गरेको राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी ल्याउन एक निर्देशकको संयोजकत्वमा समिति नै बनाएर अध्ययन सुरु गरेको थियो ।

एक महिनाको समयसीमा दिएर ४ फागुनमा अध्ययनको जिम्मा दिइएकोमा ढिला गरेर समितिले अध्ययन सकेको हो । अध्ययन सम्पन्न भएपनि समितिले राष्ट्र बैंकले बुझाएको भने छैन ।

‘अध्ययन सकिएको छ, अब यसलाई केही थपघट गरेर एक दुई दिनभित्र प्रतिवेदनको किताव बनाएपछि मात्रै सार्वजनिक हुन्छ’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘अध्ययनले सम्भव छ भन्ने देखाएको छ, तर धेरै कानूनी सुधारहरु भने देखिएको छ ।’

मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशन रेवतीप्रसाद नेपालले पनि अध्ययन लगभग सकिएको बताए । उनले एक हप्ताभित्र अध्ययन प्रतिवेदन तयार हुने बताएका छन् । नेपालमा अवैध भनिए पनि पछिल्लो समय धेरै मुलुकहरूमा डिजिटल मुद्राको कारोबार हुने गरेको छ । बिट क्वाइन, क्रिप्टोकरेन्सी जस्ता मुद्राहरू नेपालमा भने अवैध हुन् ।

भारतले चालु आर्थिक वर्षको बजेटमा नै समावेश गरेर आफ्नै डिजिटल करेन्सी ल्याउने घोषणा गरिसकेको छ । छिमेकी मुलुकलेसमेत आफ्नै डिजिटल करेन्सी ल्याउने घोषणा गरेपछि नेपालमा पनि यसबारे अध्ययन सुरु भएको थियो ।

राष्ट्र बैंकले आˆनै भर्चुअल मुद्रा ल्याउन अध्ययन सुरु गरे पनि बिटक्वाइन, क्रिप्टो करेन्सी, हाइपर फण्ड जस्तामा गरिएको लगानी अहिलेसम्म गैर कानुनी नै हुन् । कानुनले बन्देज लगाएका क्षेत्रमा लगानी नगर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ ।

२२,बैशाख.२०७९,बिहीबार १७:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्