नयाँ बजेट निर्माणबारे कर्णाली सरकारले सर्वसाधारणसँग माग्यो सुझाव

सुर्खेत । कर्णाली सरकारले आर्थिक वर्ष २०७९/०८० काे बजेट निर्माणमा आवश्यक सुझाव तथा सल्लाह दिन सर्वसाधारणलाई आग्रह गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले एक सूचना प्रकाशन गर्दै आगामी आर्थिक वर्षको बजेट निर्माणमा सुझाव पठाउन अनुरोध गरेको हो ।

‘कर्णाली प्रदेश सरकारबाट आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट तर्जुमाको कार्य प्रारम्भ भएको छ । बजेट तर्जुमा कार्यलाई सहभागितामूलक बनाउन, बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, पूर्वाधार, शासकीय प्रवन्ध र अन्य विषयहरुसँग सम्बन्धित राय/सुझाव देहायको इमेलमा २०७९ साल जेठ १५ गतेभित्र पठाउनुहुन सम्पूर्ण सरोकारवाला तथा विज्ञहरुमा सादर अनुरोध गरिन्छ’, मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

इमेलबाट आएका सुझावहरुबारेमा अध्ययन गरेर बजेट निर्माण गर्ने तयारी सरकारको छ । ‘हामीले जनअपेक्षाअनुसारको बजेट निर्माण गर्न खोजेका हौं । त्यही आधारमा सबैबाट सुझाव माग गरेका छौं’, मन्त्री विन्दमान विटले भने, ‘इमेलबाट आएका सुझाव तथा योजनाका बारेमा हामी आवश्यक छलफल गर्छौं र कार्यान्वयन गर्न सकिने र प्रदेशलाई फाइदा दिने खालका योजना भएको खण्डमा त्यसलाई बजेटमा नै पार्ने योजनामा छौं ।’

१९,बैशाख.२०७९,सोमबार १२:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्