मेलम्चीको पानी समानुपातिक तरिकाले वितरण गर्ने केयूकेएलको तयारी छः सिइओ शाक्य

काठमाडौ । मेलम्चीको पानी काठमाडौ उपत्यकामा वितरण गर्ने अन्तिम तयारी भइरहेको केयूकेएलका सिइओ मिलनकुमार शाक्यले बताएका छन । सुन्दरीजलमा आईसकेको मेलम्चीको पानीलाई प्रशोधन गरेर थोक वितरण प्रणाली मार्फत काठमाडौ उपत्यकाका पानी पोखरीहरुमा पठाउने काम केहिदिनमा हुन लागिरहेको छ ।

सुरुङ मार्फत ल्याएको मेलम्चीको पानीलाई प्रशोधन गर्न सुन्दरीजलमा दुई वटा प्रशोधन केन्द्रहरु बनेका छन् । ती दुवै प्रशोधन केन्द्र साढे आठ आठ करोड लिटर क्षमताका रहेका छन । त्यहि प्रशोधन केन्द्रबाट उपत्यकाका खानेपानीका धाराहरुमा पानी वितरण गर्ने तयारी रहेको छ ।

प्रशोधन केन्द्रबाट प्रशोधित भएर आएको पानी काठमाडौ उपत्यकामा रहेका १० वटा पानी पोखरीहरुमा जम्मा हुन्छ । पानी पोखरी अर्थात रिजर्भ्वायर ट्याङ्कीहरुमा जम्मा भएको पानीलाई समानुपातिक तरिकाले वितरण गर्ने जिम्मेवारी भने काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) रहेको पनि सिइओ शाक्यले बताएका छन ।

काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले गत साल पनि मेलम्चीको पानी वितरण गरिसकेकाले पोहोर साल जत्ति चुनौती यसपाली नरहेको केयूकेएलका सिइओ शाक्यले बताएका हुन ।

गत साल पानी वितरण गर्ने क्रममा भएको पानीको चुहावट, सडक विभागसँग सडक भत्काउने स्वीकृतिमा भएको ढिलाई र यसले आवगमनमा पारेको असर, पानी नपुगेको क्षेत्र, २४ सै घण्टा पानी वितरण गर्दा पानी उपभोगको प्रवृत्ति लगायत सिकाई हासिल गरिसकेको केयूकेएलले सकभर यसपटक पानीको समानुपातिक वितरण गर्ने तयारी समेत गरेको छ । यस पटक पनि केयूकेएलका पुरान ैधाराबाट पानी वितरण गर्ने तयारी रहेको छ ।

दश वटा पोखरी भरेर पानी वितरण गर्ने तयारी रहेको छ । पानीको अवश्था हेरेर नै पानी वितरण हुन्छ । कुनै ठाउँमा दैनिक र कुनै ठाउँमा दुईदिनको अन्तरमा पनि पानी वितरण गर्ने तयारी रहेको छ ।

पानी वितरणको जिम्मेवारी शाखाका प्रमुखहरुले नै गर्ने छन । पानी लिकेज भएका ठाउँमा तुरुन्त नै लिकेज बनाउने गरि तयारी गरिएको सिइओ शाक्यले बताएका छन ।

८,बैशाख.२०७९,बिहीबार १२:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्