तराईमा ३ दिनसम्‍म लू लाग्‍ने विज्ञको चेतावनी

काठमाडौं । नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा चल्ने भएकोले उच्च सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनी अनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो ।

४० डिग्रि भन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेको छ ।

यो अघि नै विज्ञहरुले नेपालमा यसवर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार ३ दिनसम्म पश्चिम तराईमा तापक्रम अत्याधिक वृद्धि हुने बताए ।

उनका अनुसार ४० डिग्री वा सो भन्दा माथि तापक्रम, दुई वा त्यो भन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्याधिक गर्मी’ को अवस्था भनिन्छ । उनले नेपालमा हिट वेब ‘लू’ सुरु भइसकेकोले सबै नागरिकहरुले सचेत रहन आवश्यक रहेको बताए ।

जलवायु विज्ञ डा. उप्रेतीले छिमेकी देश भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको र नेपालका पश्चिम तराईका जिल्लामा यसको असर पर्ने पर्ने प्रचुर सम्भावना रहेको बताए । उनका अनुसार नेपालमा शनिवारसम्मको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा ३ वटा स्टेशनमा ४० डिग्री भन्दामाथि तापक्रम रेकर्ड भएको र ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम भएको स्टेशनको संख्या २७ पुगेको छ ।

जलवायुविज्ञ डा. उप्रेतीले नेपालमा समय भन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको समेत बताए । उनले १२२ वर्षपछि गत मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताए । उनले वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले पनि नेपालको पश्चिमी भागमा अत्याधिक तापक्रम वृद्धि हुँदै गएको तथ्यांक निकालेको बताउनु भयो ।

जलवायुविज्ञ डा. उप्रेतीले भने, ‘खास गरेर यो वर्षमा तापक्रम चैतको सुरुदेखि नै वा फागुनको अन्तिम सातादेखि चैतको प्रारम्भ हुँदादेखि नै तापक्रम बढेको अवस्था छ । अहिले ग्लोवल्ली पनि मार्च महिनालाई १२२ वर्ष यताकै सबैभन्दा गर्मी महिना भनेर रेकर्ड भएको छ । त्यो कुरालाई वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशन मौसमसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाले पुष्टि गरेको र भारतको मेट्रोलोजिकल डिपार्टमेण्ट (मौसम विभाग) ले पनि १२२ वर्ष यताको वार्मेस्ट मन्थ (गर्मी महिना) मार्च भनेर डेटामा पनि आएको छ । अहिलेसम्म भारतको औषत तापक्रम मेक्सिमम (धेरै) मा मार्च महिनाको लागि ३०.८७ डिग्री सेल्सियस जुन रेकर्ड भएको छ, त्यो २०१० भन्दा यताको सेकेण्ड (दोस्रो) धेरै वार्मेष्ट (तापक्रम) हो । ’

जलवायुविज्ञ डा. उप्रेतीले अहिले औषत पृथ्वीको तापक्रम १.१ डिग्री रहेको र भारतले जारी गरेको १२२ वर्षको आँकडामा १.८६ डिग्री सेल्सियसले तापक्रम औषतमा बढेको देखिएको बताए। उनले यो असर जलवायु परिवर्तनको कारण भएको बताए ।

जलवायुविज्ञ डा. उप्रेतीले अहिले अुनावी माहोल भएकोले बढ्दो तापक्रमको असरबाट बच्न चुनावी कार्यक्रमलाई थोरै समयमा सीमित गरेर जान सुझाव दिए । उनले दिउँसो १२ देखि ३ बजेसम्म तापक्रममा अत्याधिक वृद्धि हुने भएकोले सहन गर्न गाह्रो हुने र त्यसले बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती महिला लगायतका मानिसमा बढी असर गर्ने बताए ।

अत्याधिक गर्मीका कारण मान्छे बेहास हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएको पानी बढी मात्रामा पिउन आवश्यक रहेको बताए । लूबाट बच्नको लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरु विहानको समयमा गर्ने वा तीन बजे भन्दापछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरी बिहान र साँझको समयमा गर्ने जस्ता उपाय अपनाउन सकिने उनको सुझाव छ ।

त्यस्तै धेरै तापक्रम भएको दिनमा कतिपय देशमा ‘वर्क होलिडे’ दिने गरेको उदाहरण दिँदै उनले नेपालमा तापक्रमको सीमा तोकेर सोही किसिमका उपाय अपनाउनुपर्नेमा जोड दिए । यसबाट बच्न पानी प्रशस्त पिउने, दही, मोही र झोलीलो पदार्थ खाने, प्रेटिन भएको खाना नखाने, कटन र पातलो लुगाहरु लगाउन उनको सुझाव छ ।

४,बैशाख.२०७९,आईतवार १५:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्