एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दा ७ महिनापछि पूर्ण सुनुवाइ हुँदै, आज आउला त आदेश ?

काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशका दुई सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज पूर्ण सुनुवाइ हुँदैछ ।

करिब ७ महिनापछि सो मुद्दा पूर्ण सुनुवाइमा गएको हो । मुद्दाको सुनुवाइ अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले सो मुद्दालाई पूर्ण सुनुवाइका लागि पेस गर्न गत फागुन २९ गते आदेश दिएको थियो ।

ओलीले अन्तरिम आदेश माग गरेपनि पटक पटक सुनुवाइका लागि पेसी तोकिँदै मुद्दा धकेलिदै आएको थियो । आजको पूर्णसुनुवाइपछि १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो लाग्नेछ ।

२०,चैत्र.२०७८,आईतवार १२:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्