त्रिभुवन विश्वविद्यालयमा माघ १० सम्म पढाइ बन्द, परीक्षा नरोकिने

काठमाडौं । सरकारले आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृति दिइरहेको वैदेशिक रोजगार कार्यालय, काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिन लागेको हो ।

श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको कार्यालय प्रमुख अर्याललेको भनाई छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने बताए । मन्त्रालयका सचिव एकनारायण अर्यालले सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाइ सहज रूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाएको जानकारी दिए ।

पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेभसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली मार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ । यसका लागि सुरुमा विभागको वेभसाइटमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ । अथवा सिधै अनलाइन प्रणालीमा गएर पनि खोल्न सकिनेछ ।

श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारण सहितको सूचना आवेदकको मोवाइल नम्बर र आवेदन गर्दाको युजर एकाउण्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोवाइल नम्बर र इमेल ठेगाना अनिवार्य रुपमा भर्नुपर्नेछ । युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकोले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ ।

अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकोले कम्तीमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्विकृति लिइसकेपछि मात्र हवाइ टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ । उडान हुने मिति सम्म श्रम स्वीकृतिको म्याद ९० दिन भन्दा बढी हुनुपर्ने भएकोले सो बमोजिम भए नभएको एकिन गर्न पनि कार्यालयले भनेको छ ।

पुनः श्रम स्विकृतिको लागि म्यादी जीवन विमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायक मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । म्यादी जीवन बीमा उमेर अनुसार १८ वर्ष देखि ३५ वर्षसम्म ३ हजार ७ सय ८, ३६ वर्ष देखि ५० वर्षसम्म रु। ४ हजार ९ सय ३१ र ५१ वर्ष देखि ६४ वर्षसम्म ९ हजार ४ सय ६३ रुपैयाँ शुल्क तिर्नुपर्छ ।

वैदेशिक रोजगार कल्याणकारी कोषको लागि १ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । पुनः श्रम स्वीकृतिको लागि पासपोर्ट साइजको फोटोको स्क्यान कपी, राहदानीको स्क्यान कपी, सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो श्रम स्वीकृतिको स्क्यान कपी र पुरानो भिसा भए सो को स्क्यान कपी आवश्यक पर्छ ।

त्यस्तै अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौतापत्रको स्क्यान कपी पनि आवश्यक पर्ने कार्यालयले जनाएको छ । घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ बमोजिम सम्बन्धित देश स्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिश पत्रको स्क्यान कपी आवश्यक पर्दछ ।

वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउने गर्छन । वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुस सम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब १ लाख जना, संस्थागततर्फ १ लाख ८० हजार र व्यक्तिगततर्फ ८ हजार जना भन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ ।

१,माघ.२०७८,शनिबार १३:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्