गोर्खा सैनिकबारे नेपाल र बेलायतबीचको वार्ता अनिश्चित

काठमाडौं । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको मागको विषयमा नेपाल र बेलायत सरकारबीच हुने वार्ता तत्कालै नहुने भएको छ । नेपाल सरकारले वार्ता टोली गठन नगरेको र चासो समेत नदिएपछि वार्ता अनिश्चित बनेको हो ।

दुबै पक्षका सरकारबीच भदौ २३ गते भएको सहमतिअनुसार डिसेम्बरभित्रै वार्ता हुनुपर्ने थियो । बेलायतले यसबारे तदारुकता देखाएपनि नेपालले भने वास्ता नगर्दा वार्ता अनिश्चित बनेको हो ।

सरकारले वास्ता नगरेपछि आमरण अनसनमा उत्रिएका गोर्खा सैनिकका प्रतिनिधि निराश बनेका छन् । ‘अब वार्ता कहिले हुन्छ भन्ने कुरा नेपालको कूटनीतिक प्रयत्न निर्भर हुनेछ’ आन्दोलनरत गोर्खाहरुका प्रतिनिधि हिमाल राईले भने ।

सन् १९९७ भन्दा अघि बेलायती सैनिकमा भर्ना भएका नेपाली नागरिकलाई बेलायती सैनिक सरह पेन्सन र सुविधाको माग गर्दै लामो समयदेखि ब्रिटिस गोर्खा आन्दोलनमा छन् ।

उनीहरु गत साउन ६ गतेदेखि १३ दिनसम्म बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा आमरण अनसनमा बसेका थिए । बेलायतले वार्तामा बस्ने प्रतिबद्धता जनाएपछि उनीहरुले अनसन तोडेका थिए ।

भदौ २३ गते फिर्ता बोलाइएका बेलायती राजदूत लोकदर्शन रेग्मीको समन्वयमा बेलायतसँग वार्तामा बस्ने सहमति भएको थियो । उनलाई असोजमा सरकारले फिर्ता बोलाएपछि वार्ता अघि बढेको छैन ।

शेरबहादुर देउवा सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायतको लागि राजदूतमा सिफारिस गरेको छ ।

१,माघ.२०७८,शनिबार १२:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्