गृहमन्त्री खाण र अस्ट्रेलियन राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले शुक्रबार शिष्टाचार भेट भएको छ । गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।

भेटमा गृहमन्त्री खाणले विकासमा अस्ट्रेलियाले नेपाललाई गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरे । त्यस्तै नेपालमा रहेका शरणार्थी व्यवस्थापन र नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन आग्रह गरे ।

‘नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा अध्ययनमा सहज व्यवस्था मिलाउन अस्टे«लियन सरकारसँग आग्रह छ,’ गृहमन्त्री खाणले भने, ‘त्यहाँ अध्ययनरत विद्यार्थीले पढाइका अलवा हप्तामा २० घण्टा काम गर्न पाउँछन् । त्यो समय केही बढाउने बातावरण मिलाउन पनि आग्रह छ ।’

जवाफमा नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्ने सहयोग गर्न सदैव तयार रहेको बताइन् । उनले नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने बताइन्।

३०,पुष.२०७८,शुक्रबार १६:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्