आयोगलाई दलहरूको सुझाव, ‘स्थानीय चुनाव समयमै गर्न सरकारलाई दबाब दिनुस्’

काठमाडौं । स्थानीय तहको चुनावलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा नेताहरूले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने सुझाव दिएका छन् ।

बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता रमेश लेखकले माघ १२ को राष्ट्रियसभा निर्वाचनमा मतदान केन्द्र बढाउन सुझाव दिएको बताए ।

‘राष्ट्रियसभाको १२ गतेको निर्वाचनका लागि मतदान केन्द्र बढाउन सुझाव दिएका छौं,’ लेखकले भने, ‘दुई-तीन जिल्लामा मतदान केन्द्रमा राख्ने भनेको छौं ।’ त्यस्तै हाल चलिरहेको मतदाता नामावली संकलनलाई पनि अधिकतम सदुपयोग गर्न सुझाव दिएको बताए ।

स्थानीय तहको चुनावको हकमा भने सरकारले छलफल गरेर चाँडै निष्कर्षमा पुगोस् भन्ने सुझाव आफूहरूको रहेको लेखकले बताए । ‘सरकारले छलफल गरेर चाँडो निष्कर्षमा पुर्‍याओस् भन्ने नै हो’, लेखकले भने

आयोगले वैशाख १४ र २० मा चुनाव गर्ने गरी सरकारलाई सिफारिस गरेको थियो । तर, सरकारले यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन । बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता विष्णु रिमालले चुनाव गर्न कम्तीमा पनि १ सय २० दिन आवश्यक पर्ने र प्रस्ताव गरेको मितिमा गर्दा पनि सय दिनको मात्रै समय रहेको भन्ने जानकारी आयोगले दलहरूलाई गराएको बताए।

‘एउटै मात्रै विकल्प भनेको तोकिएको समयमै निर्वाचन गर्नुपर्छ भन्ने आयोगमा भनाइ थियो,’ रिमालले भने, ‘मैले आफ्नो दलको तर्फबाट आयोगको भनाइमा सर्मथन जनाएको छु ।’

बैठकमा संविधान र कानूनको व्यवस्थाबारे आयोगले राम्रो प्रस्तुती दिएको पनि रिमालले बताए। बैशाखमा स्थानीय तहको चुनाव गराउन कुनै पनि कानूनले नरोक्ने सुझाव आफूहरुले दिएको रिमालले बताए।

‘तोकिएकै मितिमा तत्काल गराउनुपर्छ भनेका छौं र त्यही अनुसारको सुझाव सरकारलाई दिउ भनेका छौं,’ उनले भने, ‘कुनै कानून आवश्यक छैन । अलिहे चुनाव गर्न केही कुराले पनि रोक्दैन ।’ उनले कानूनअनुसार पनि आगमी जेठ ६ सम्म नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने बताए ।

३०,पुष.२०७८,शुक्रबार १५:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्