मिडिया अवार्ड प्रकरणले पत्रकार महासंघमा विवाद, केन्द्रीय समिति बैठक बहिस्कार

कपिलवस्तु । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल नै मिडिया अवार्डका नाममा ठगी धन्दामा संलग्न रहेको विषय छानबिन हुनुपर्ने माग उठेपछि महासंघको आज कपिलस्तुमा शुरु भएको बैठक अबरुद्ध भएको छ ।

बैठक शुरु हुनासाथ महासंघका केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग,अध्यक्षले विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको तथा विवादित कार्यक्रममा गएर अध्यक्षले संस्थागत मान्यता दिएको घटनाको छानविन हुनुपर्ने बताएका थिए ।

अध्यक्ष नै यस्ता ठगी धन्दामा संलग्न रहेको भनेर आरोप आइसकेपछि उनको अध्यक्षतामा बैठक बस्न नसक्ने सदस्यहरुले अडान लिएका छन् । जसको बारेमा छानविन गर्ने हो,उसैले बैठकको अध्यक्षता गर्न नसक्ने अडान लिएर आफूहरुले बैठक बहिस्कार गरेको एक केन्द्रीय सदस्यले बताए ।

उनीहरुले तालिम र विभिन्न कार्यक्रममा भइरहेको मनपरीमाथि समेत छानविन माग गरेका छन् । मिडिया अवार्डका नाममा जे भयो त्यसको बारेमा प्रष्ट नभएसम्म बैठक अघि नबढाउन आफूहरुले आग्रह गरेर बाहिरिएको केन्द्रीय सदस्य बबिन शर्माले बताए ।

बैठक बहिस्कार गर्नेमा प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबाट निर्वाचित केन्द्रीय सदस्यहरु छन् । अध्यक्ष पोखरेल र यी सदस्यहरु एउटै टिमबाट पत्रकार महासंघमा निर्वाचित भएका थिए ।

यो पनि पढ्नुहोस  नौ हजार मूल्य पर्ने साओमीको रेडमी जिओ
३०,पुष.२०७८,शुक्रबार ११:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: