नेपाली स्याटेलाइटलाई आज पृथ्वीको कक्षमा प्रक्षेपण गरिँदै : अन्तरीक्षबाट सूर्यको किरणको अध्ययन गर्ने

काठमाडौं । नेपाली स्याटेलाइट ‘स्यानोस्याट-१’लाई आज राती ९ बजेर १५ मिनेटमा स्पेस-एक्सको फाल्कोन-९ रकेटबाट पृथ्वीको कक्षमा प्रक्षेपण गरिने भएको छ ।

विश्वकै धनी इलोन मस्कको कम्पनी स्पेस-एक्सको उक्त रकेटबाट नेपालमै निर्मित स्याटेलाइट अन्तरीक्षमा पठाइन लागिएको हो ।

अन्तरीक्षसम्बन्धी खोज अनुसन्धान गर्ने नेपाली वैज्ञानिकहरुको कम्पनी ओरिएन स्पेसले निर्माण गरेको २५० ग्राम तौलको उक्त स्याटेलाइटले एकवर्ष पृथ्वीको कक्षमा रहेर काम गर्नेछ ।

५ सय किमी लामो कक्षमा रहेर उक्त स्याटेलाइटले सूर्यका विकिरणहरु बिटा र गामाको अध्ययन एवं मापन गर्ने तथा डिजिटल रिपिटरको रुपमा काम गर्नेछ

ओरिएन स्पेसका रिसर्च तथा डेभलपमेन्ट इन्जिनियर जितेन थापाका अनुसार नेपाली समयानुसार ९ बजेर १५ मिनेटमा स्याटेलाइट रकेटमार्फत कक्षतर्फ पठाउन लागिएको हो ।

स्पेनी कम्पनी फोसा सिस्टम्समार्फत उक्त स्याटेलाइट प्रक्षेपणको लागि स्पेस-एक्समा पठाइएको हो । यो स्याटेलाइटको लन्चिङ खर्च चाहिँ ४० लाख रुपैयाँ लागेको थापाले जानकारी दिए ।

स्यानोस्याट-वान अन्तरीक्षमा पठाउन लागिएको दोस्रो र नेपालमै निर्मित पहिलो भू-उपग्रह हो । सोही रकेटमा अन्य मुलुकले निर्माण गरेका स्याटेलाइट पनि पठाइने भएको छ ।

यसअघि नेपाली युवा बैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको नेपालीस्याट-१ नेपाली भू-उपग्रह अन्तरीक्षमा ८४१ दिन रहेर खसेको थियो ।

२९,पुष.२०७८,बिहीबार १२:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्