मनोनयनमा पक्षपात गरेको छैन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरू मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन् ।

बुधबार पार्टी कार्यालयमा आयोजित मनोनित पार्टी सदस्यहरूलाई शपथ ग्रहण गराउँदै अध्यक्ष लिङ्देनले मनोनयनमा पक्षपात गरेको भनी लगाइएको आरोपमा सत्यता नभएको स्पष्टीकरण दिएका हुन् ।

लिङ्देनले अध्यक्ष निर्वाचित भएपछि ३३ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । निवर्तमान अध्यक्ष कमल थापाले मनोनयनमा पक्षपात भएको टिप्पणी गरेका थिए । ‘मैले मनोनयन गर्ने कुरामा कुनै पनि पक्षपात, विभेद गरेको छैन । हिजो मलाई आन्तरिक प्रतिष्पर्धामा सहयोग गरेको नगरेको कुरालाई आधार बनाएको छैन । आवश्यक र अनिवार्य व्यक्तित्वहरुलाई हामीले ल्याउने काम गरेका छौं’ उनले भने ।

अध्यक्ष लिङ्देनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि बताए । अध्यक्ष लिङ्देनले पार्टीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरु समेत लिएर अघि बढ्ने बताए ।

२८,पुष.२०७८,बुधबार १८:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्