बागमती प्रदेशको नेतृत्व हाेडमा कांग्रेसका तीन समूह

चितवन । नेपाली कांग्रेस बागमती प्रदेशको नेतृत्वमा पुग्न तीन समूह सक्रिय भएका छन् । संस्थापन पक्षबाट इन्द्रबहादुर बानियाँ, संस्थापनइतर समूहबाट जगदीश्वर नरसिंह केसी र भिमसेनदान प्रधान चुनावी मैदानमा छन् । बानियाँले कांग्रेस सभापति शेरबहादुर देउवा समूहको नेतृत्व सम्हालेका छन् ।

केसीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री तथा केन्द्रीय सभापतिका उम्मेदवार प्रकाशमान सिंहको नेतृत्व गरेका छन् । प्रधानले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्व गरेका छन् ।

संस्थापनइतर समूह मिलेर देउवा समूहलाई एक्ल्याउने कसरत बढेको स्रोतले जनाएको छ । पौडेल र सिटौल समूहले एउटै प्यानल बनाउन पदाधिकारीमा भागबण्डा सुरु भएको छ । तर, प्रदेश सभापतिका उम्मेदवार केसी र प्रधान आँफु बाहेक अन्य पदमा मिलाउने अडानमा छन् ।

प्रदेश अधिवेशन आज सुरु भएको छ । भोली मनोनयन दर्ता र पर्सी मतदान गर्ने कार्यतालिका छ । हेटौडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको भवनमा निर्वाचनका कार्यक्रम हुनेछन् ।

बानियाँ बागमती प्रदेशका कांग्रेसका संसदीय दलका नेता हुन् । उनी संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन् पूर्व राज्यमन्त्री र पूर्वगृहराज्यमन्त्री हुन् । मकवानपुर कांग्रेसका जिल्ला सभापति रहेका बानियाँ २०७० मा पहिलो पटक सांसद बनेका थिए ।

२०४४ सालदेखि राजनीतिमा सक्रिय उनी २०५१मा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्दै आइरहेका छन् । २०५३ मा नेविसंघ मकवनापुरको जिल्ला सचिव, २०५५ मा तरुण दलको जिल्ला सचिव, २०५६ मा तरुण दल जिल्ला अध्यक्ष पनि भैसकेका छन् ।

जगदीश्वर नरसिंह केसी नुवाकोटको २०५७ देखि लगातार ४ पटक जिल्ला सभापति भएका व्यक्ति हुन् । २०६४ र २०७० मा संविधानसभा सदस्य रहेका उनी २०६२–६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेका बेला गंगबुमा पाखुरामा गोली लागेको थियो । २०४२ सालको सत्याग्रहमा संलग्न भएपछि प्रहरी हिरासतमा पनि परेका थिए । २०४६ सालको जनआन्दोलनमा ५९ दिनसम्म जेल परेका थिए ।

२०४१ सालमा सरस्वती क्याम्पसको स्ववीयु सचिव रहेका उनी २०३६ सालको अस्कल काण्डका घाइते पनि हुन् । भीमसेनदान प्रधान २०७४ सालमा ९ महिना रक्षामन्त्री बनेका थिए ।

२०७० को चुनावमा एमाले नेता योगेश भट्टराई र २०७४ मा एमाले र माओवादी मिलेर चुनाव लड्दा समेत माओवादी नेता झक्कु सुवेदीलाई पराजित गरेका थिए । २०७० मा पहिलो पटक काठ्माण्डौको १० निर्वाचन क्षेत्रमध्ये ८ निर्वाचन क्षेत्रमा कांग्रेसलाई जिताउन भूमिका खेलेका व्यक्ति हुन् ।

२०३२ सालदेखि विद्यार्थी आन्दोलनबाट सक्रिय राजीतिमा आएका हुन् । संस्थापक नेता गणेशमान सिंहसँगै रहेर २०३६ को जनमत संग्रह, २०४२ को सत्याग्रह र २०४६ को जनआन्दोलनमा सहभागि थिए । २०६२÷६३ को जनआन्दोलनमा गिरिजाप्रसाद कोइरालाले उनलाई संयुक्त जनआन्दोलनको काठ्माण्डौ संयोजक बनाएका थिए ।

प्राध्यापक संघको महासचिव, अध्यक्ष पनि बने । उनी काठ्माण्डौ जिल्लाका पूर्व सभापति हुन् । तीन समूहले आफ्नो समूह बलियो बनाउन कसरत बढाएका छन् । कांग्रेसका शिर्षनेताहरु प्रकाशमान सिंह र कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत दुबै यतिबेला हेडौमामै छन् । उनीहरु समूह व्यवस्थापनमा लागेका छन् ।

कांग्रेस बागमती प्रदेश निर्वाचन समितिका सहायक निर्वाचन अधिकृत रामकुमार अधिकारीले शुक्रबार मनोनयन दर्ताको काम सुरु हुने बताए । पदाधिकारीमा १ सभापति, २ उपभापति, २ महामन्त्री, १ महिला सहित ३ जना सहमहामन्त्री चयन हुनेछन् ।

प्रदेशस्तरीय ९१ जना निर्वाचित हुनेछन् । जसमध्ये ८ जना पदाधिकारी, ४८ जना खुल्लातर्फ सदस्य र ३५ जना समावेशीतर्फबाट निर्वाचित हुने उनले बताए । हालसम्म मतदाता नामावली प्रकाशन हुन सकेको छैन । करिब २ हजार १ सय जनाले नयाँ नेतृत्व चयन गर्नेछन् ।

प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आन्तरिक किचलोमा परेका कांग्रेसलाई अब सुधारेर शक्तिशाली बनाउनुपर्ने खाँचो औल्याए ।

यस्तै सहमहामन्त्री प्रकाशशरण महतले कम्युनिष्टहरु असफल बनिसकेकाले एकजुट बनाएर आगामी सबै निर्वाचनमा कांग्रेसले जित हासिल गर्नुपर्नेमा जोड दिए ।

१६,मंसिर.२०७८,बिहीबार १७:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्