चितवनका सात वटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन गरिँदै

चितवन । चितवनका सात वटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम गरिने भएको छ । दुई चरणमा नामावली संकलन गरिने जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा मंसिर १७ गतेदेखि पुस २ गतेसम्म, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा पुस ४ गतेदेखि १८ गतेसम्म मतदाता नामावली संकलन हुनेछ ।

भरतपुर महानगरपालिका र बाहिरि जिल्ला ठेगना भएका तर चितवनमा बसोबास गर्नेहरुको जिल्ला निर्वाचन कार्यालमै मतदाता नामावली संकलन हुनेछ । फोटोसहितको नामावली दर्ता गर्न छुटेका र नागरिकता पाएका सबै नागरिकले नाम दर्ता गराउन पाउने छन् ।

जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले नागरिकता जारि भएको जिल्ला र स्थानिय तहको वडाभन्दा अन्यत्र बसाइसराइ गरेको भए कागजपत्र प्रमाणपत्र भएमा बसोबास गरेकै क्षेत्रमा नाम दर्ता गर्न सकिने बताए ।

अस्थायी बसोबास गरेकाहरुलौ स्थायी ठेगनाबाटै मतदान गर्न पाउने गरि चितवनबाटै नामावली दर्ता गर्न सकिने छ । विवाहदर्ता प्रमाणपत्र पेश गरेर नामावली दर्ता गराएमा हालकै क्षेत्रबाट मतदान गर्न पाउनेछन् ।

२०७७ चैत ४ गतेसम्म चितवनमा ३ लाख ६८ हजार ३ सय ८२ जना मतदाताको नामावली संकलन भएको छ । चेत ४ देखि कार्तिक मसान्तसम्म थप १० हजार ३ सय ३९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा ३ लाख १३ हजार ३ जना, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ३ लाख ५४ हजार ३६ जना मतदाता थिए । चैतसम्मको तथ्यांक केलाउदा १४ हजार ३ सय ४३ जना नयाँ मतदाता थपिएका छन।

१६ वर्ष उमेर पुगेपछि नागरिकता लिने सबैले मतदाता नामावली दर्ता गरेपनि १८ वर्ष पुगेपछि मात्रै मतदान गर्न पाउनेछन् । विगतमा फोटोसहितको मतदाता नामावलीमा दर्ता गराइसकेकाले फेरि नाम दर्ता गर्नु पर्ने छैन ।

दर्ता स्थल व्यवस्थापक, दर्ता कर्मचारी, सहायक दर्ता कर्मचारी र दर्ता स्थल सहयोगी गरेर २१ जना फिल्डमा खटिनेछन् । स्थानीयतहरुले वडा कार्यालय र नगरपालिका कार्यलयमै दर्ता गर्ने गरि तालिका बनाएका छन् ।

१६,मंसिर.२०७८,बिहीबार १७:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्