कोभिड महामारीको केन्द्रविन्दु बन्दै युरोपः डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिना कोरोना भाइरस संक्रमण ५० प्रतिशतभन्दा बढेको बताएका छन्। खोपहरूको पर्याप्त आपूर्तिका बाबजुद युरोप महामारीको केन्द्रविन्दु बनेको उनीहरूले टिप्पणी गरेका छन्।

‘त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ तर खोपको खपत बराबर मात्रामा हुन सकेको छैन। यसले समस्या निम्त्याएको छ,’ डब्लुएचओका आपतकालीन प्रमुख डा. माइकल रायनले बिहीबार पत्रकार सम्मेलनमा भने।

उनले खोपहरूमा रहँदै आएको अन्तर बन्द गर्न युरोपेली अधिकारीहरूलाई आग्रह गरेका छन्।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आफ्नो जनसंख्याको ४० प्रतिशतभन्दा बढी खोप लगाएका देशहरूले आफूसँग भएका खोप अन्य विकासोन्मुख देशलाई दिनुपर्ने बताएका छन्।

‘संवेदनशील समूहका मानिसलाई बाहेक अरूलाई बुस्टर डोज दिन हतार गर्नु पर्दैन,’ टेड्रोसले भने।

उनले खोप निर्माताहरूसँग कोभ्याक्स आपूर्तिलाई प्राथमिकता दिन आह्वान गरेका छन्। गरिब देशले कोभिड–१९ खोपको १ प्रतिशतभन्दा कम प्राप्त गरे पनि अफ्रिका र दक्षिणपूर्वी एसियामा गत साता ९ प्रतिशत संक्रमण घटेको पाइएको छ।

६० भन्दा बढी देशले जाडो यामभन्दा पहिले नै कमजोर प्रतिरोधी क्षमताविरूद्ध लड्न बुस्टर डोज दिन थालेका छन्। यद्यपि अर्को कोभिड लहर आउने सम्भावना अझै कायम छ। अमेरिकामा ५ देखि ११ वर्षका बालबालिकाले यो साता कोभिडविरूद्ध खोप लिन थालेपछि अधिकारीहरूले जोखिमभन्दा लाभ बढी भएको टिप्पणी गरेका छन्।

यसअघि बिहीबार डब्लुएचओको ५३ देशका युरोप क्षेत्र निर्देशक डा. हान्स क्लुगेले बढ्दो संक्रमित संख्या ‘गम्भीर चिन्ताको विषय’ भएको बताएका थिए।

‘युरोप महामारीको केन्द्रविन्दुमा फर्किएको छ जहाँ हामी एक वर्षपहिले थियौं,’ डब्लुएचओको कोपेनहेगन कार्यालयका क्लुगेले भने।

क्लुगेले चेतावनी दिँदै भनेका छन्, ‘कोरोना भाइरसबाट संक्रमितको अस्पताल भर्ना दर गत साता दोब्बरभन्दा बढी भएको छ। यस्तै बढ्दै जाने हो भने युरोप क्षेत्रमा थप पाँच लाखको महामारीबाट मृत्यु हुनसक्छ।’

क्लुगेले यस क्षेत्रका देशहरू ‘भ्याक्सिनेसन रोलआउटको विभिन्न चरणमा’ रहेको र क्षेत्रव्यापी औसत ४७ प्रतिशत मानिसलाई पूर्ण रूपमा खोप लगाइएको बताएका छन्। आठ देशमा भने उनीहरूको जनसंख्याको ७० प्रतिशतलाई पूर्ण खोप लगाइएको छ।

युरोपको कोभिड-१९ संक्रमण दर लगातार पाँचौं सातासम्म बढिरहेको पाइएको छ। संक्रमण दर युरोपमा अहिलेसम्मकै उच्च थियो जसले प्रति एक लाख व्यक्तिमा १ सय ९२ नयाँ संक्रमण भएको देखाएको छ।

‘हामी स्पष्ट रूपमा अर्को लहरमा छौं,’ स्वीडेनका प्रमुख महामारी विशेषज्ञ एन्डर्स टेगनेलले बिहीबार भनेका छन्, ‘महामारीको बढ्दो रूप युरोपमा केन्द्रित छ।’

मध्य र पूर्वीयुरोपका धेरै देशमा हाल दैनिक संक्रमण दर बढेको छ। एम्स्टर्डममा रहेको युरोपेली मेडिसिन एजेन्सीले बिहीबार अनलाइन ब्रिफिङमा विज्ञहरूले सबैलाई खोप लगाउन आग्रह गरेको छ।

‘युरोपमा महामारीको अवस्था अहिले धेरै चिन्ताजनक छ। किनकी संक्रमण दर, अस्पतालमा भर्ना हुने र मृत्युको संख्यामा वृद्धि भएको देख्न सक्छौं,’ इएमएका क्लिनिकल अध्ययन र निर्माण कार्य बलका प्रमुख फर्गस स्विनीले भने।

उनका अनुसार सबैलाई पूर्ण मात्राको खोप लगाउन अनिवार्य छ। यो मात्र महामारी नियन्त्रण गर्ने एक सशक्त उपाय हो।

२०,कार्तिक.२०७८,शनिबार २०:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्