कोरोनाको कारण पढाइ रोकिएका विद्यार्थीलाई वातावरण बनाउन कूटनीतिक पहल गर्छौै : परराष्ट्रमन्त्री

काठमाडौं । विभिन्न सात विद्यार्थी सङ्गठनले कोरोनाका कारण विदेशमा अध्ययन गरिरहेका विद्यार्थीको रोकिएको पढाइमा अन्योल भएको भन्दै चीनलगायत अन्य देशसँग कूटनीतिक पहल गरी अध्ययन गर्ने वातावरण मिलाइदिन सरकासमक्ष अनुरोध गरेका छन् ।

विद्यार्थी सङ्गठनहरुले विदेशमा अध्ययन गरिरहेका तर कारोनाका कारण स्वदेशमा फिर्ता हुनुपरेका विद्यार्थीले पुनः अध्ययन गर्न नपाएका भन्दै हिजो परराष्ट्रमन्त्री डा नारायण खड्कासमक्ष ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापन पत्र लिएपछि परराष्ट्रमन्त्री खड्काले अध्ययनका लागि विद्यार्थीहरु जान नपाउनु मानवीय समस्या भएको बताए । छिट्टै नै विदेश अध्ययनमा जाने व्यवस्था मिलाउने आश्वासन पनि दिए । विद्यार्थीहरुको अध्ययन गर्न जान नपाएको समस्या गम्भीर रहेको र यस बारेमा आफूले कुरा पनि उठाएको उनले बताए ।

सयौँको सङ्ख्यामा नेपाली विद्यार्थी विद्यावारिधि, एमडी, एमएस, एमडीएस, एमबीबीएस, इञ्जिनियरिङ तथा एमबीएलगायतका कोर्ष अध्ययन गर्नबाट वञ्चित हुनुका साथै लगानीसमेत डुब्न लागेको भन्दै तत्काल पुनः अध्ययन गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेको बताइएको छ ।

यसरी माग गर्नेमा अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल (छैटौँ) अध्यक्ष देवेन्द्र कुँवर, अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही, अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेल र नेविसङ्का सभापति राजिव ढुङ्गाना छन् ।

१७,कार्तिक.२०७८,बुधबार १२:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्