कोष्टाब्याङ्का घटनाले एनआरएनए स्पेन पनि विवादमा

बार्सिलोना। ‘कहिले सासुको पालो कहिले बुहारीको’ यो उखान स्पेनको नेपाली समाजमा दुरुस्तै मेल खाएको छ । विगतमा प्रjfसी नेपाली मञ्च निकटले एनआरएनए स्पेनको नेतृत्वमा सम्हाल्दा जनसम्पर्क समितिले सधैं असहयोग मात्रै गरिरह्यो। अब जनसम्पर्क समिति निकटले नेतृत्व सम्हाले लगत्तै चौतर्फी विरोध र असहयोग सतहमा नै पोखिन सुरु भएको छ।

एनआरएनए अध्यक्ष शालिकराम डुम्रेलाई आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गर्न फलामको चिउरा चपाउनु जत्तिकै कठिन देखिएको छ।

अध्यक्ष डुम्रेको नेतृत्वमाथि प्रश्न उठाउँदै कोष्टाब्लान्का घटना र एनसीसी भेलामा सहभागी बनेको विषयलाई लिएर प्रवासी नेपाली मञ्च स्पेन र जनप्रगतिशील मञ्च स्पेनले संघले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा सहभागी नबन्ने घोषणा गरेका छन्। एनआरएन स्पेनले सोमबार आयोजना गरेको दशैं तिहार कार्यक्रममा पनि दुवै संगठनहरु सहभागी बनेनन्।

कोष्टाब्याङ्का घटना विवादको जड

कोष्टाब्याङ्काको दशैंतिहार कार्यक्रममा नेपालीहरुबीच कुटाकुट भएको प्रत्यक्षदर्शीहरु बताउँदै आएका छन्। घटनापछि एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लान्का र नेपाल समाज एशोसिएसनले तीन जना व्यक्तिहरूको नाम किटान गर्दै सामाजिक बहिष्कार गर्ने निर्णय गरे ।

अपशब्द बोलेको, महिलामाथि सम्मान नगरेको र हातपातमा उत्रेको आरोपसहित सामाजिक बहिष्कारको निर्णय भएको विज्ञप्ति प्रकाशित भएको थियो।

यसअघि क्षेत्रीय समितिको निर्वाचनताका पनि छलफलको क्रममा दुईपक्षबीच कुटाकुट भएको थियो। तर त्यतिबेला आपसी सहमतिमा नै विवाद टुङ्ग्याउँदै मिलापत्र गरिएको बताइन्छ। अहिलेको पनि घटनाको प्रकार उस्तै भएपनि पूर्वाग्रही किसिमले सामाजिक वहिष्कार गर्ने निर्णय भएको एकपक्षले आरोप लगाउँदै आएको छ।

एनआरएनएन स्पेनको मातहातमा रहेको क्षेत्रीय समितिले विज्ञप्ति प्रकाशित गरेर व्यक्ति बहिष्कारको निर्णय गर्दा पनि डुम्रे नेतृत्वले विवाद सुल्झाउन कुनै पहल नगरेको दुई संगठनहरुको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘प्रवासमा नेपाली समुदायको प्रतिनिधित्वमूलक सामाजिक संस्था गैरआवासीय नेपाली संघद्वारा नेपाली समाजसेवीहरुलाई नै झुटा, अपुष्ट र पूर्वाग्रही किसिमले सामाजिक बहिष्कार गर्ने निर्णयप्रति हाम्रो गम्भिर ध्यानकार्षण भएको छ।’ विज्ञप्तिमा लेखिएको छ।

यसबारे सर्वपक्षीय बैठक बस्दा पनि अभिव्यक्त भएका भावानाहरुलाई ठोस र मूर्त रुपमा कदर नगरिएको आरोप लगाउँदै विज्ञप्तिमा लेखिएको छ। ‘समयमा नै न्याय निरुपण गर्न एनआरएनए स्पेन असक्षम भएको ठहर गरेका छौ।’

एनसीसी भेलामा सहभागी बनेकोमा आपत्ति

कांग्रेस निकट डुम्रे नेतृत्वले केन्द्रीय अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले आयोजना गरेको एनसीसीहरुको भेलामा सहभागी बनेपछि विवाद चुलिएको छ। केन्द्रीय विवादमा एनआरएनए स्पेन मुछिन नहुने उनीहरुको जोड रहेको छ।

‘एनआरएनएको विधान र मर्म विपरीत एनसीसीहरुको भेलामा स्पेनले प्रतिनिधित्व गर्नु गम्भीर आपत्ति र स्पेनवासी नेपालीहरूको भावाना विपरीत भएको भएको हामीले ठहर गर्दछौं, ’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्ति प्रकाशित गर्ने संस्थाहरु नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च र नेकपा माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्च स्पेन रहेका छन् । एनआरएनए स्पेनको हालको कार्यसमितिमा कांग्रेस निकट नेपाली जनसम्पर्क समिति निकटको बहुमत रहेको छ।

विवाद समाधानकै कोसिसमा थियौं – अध्यक्ष डुम्रे

सर्वपक्षीय बैठकबाट एकहप्ताको अवधिभित्र विवाद समाधान गर्ने निर्णय भएको तर त्यो अगावै दुई संगठनहरूले एनआरएनए बहिष्कार गर्नु दु:खद् भएको अध्यक्ष शालिकराम डुम्रेले बताए। ‘विज्ञप्तिमा शब्दमा नमिलेको सबैले महसुश गरेको विषय हो। त्यसपछि पनि म छलफलमा नै छु। सामाजिक रुपमा कुनै पनि संघ संस्थालाई यसरी बहिष्कार गर्नु हुने थिएन,’ उनले थपे।

हातपात गरेर अपशब्द बोलेका यथेष्ट प्रमाणहरू क्षेत्रीय समितिसँग फुटेजहरु रहेको डुम्रेले बताए। ‘उहाँहरूले सामाजिक संजालमा लेखेका स्क्रिनसटहरू छन्। आवश्यक पर्‍यो भने सबै उपलब्ध गराउन सकिन्छ। ती कुराहरूलाई ध्यान दिनुपर्छ।’

क्षेत्रीय समितिले लेटर हेड प्रयोग गर्नु गलत भएको भन्दै अध्यक्ष डुम्रेले भने, ‘त्यो गलत हो भनेर हामीले त्यही बैठकमा नै अर्को बनाउनुपर्छ भनेर भनिसकेका छौं।’

एनआरएनए स्पेन एनसीसीसी भेलामा सहभागी हुनु सामान्य प्रक्रिया रहेको भन्दै उनले भने, ‘ हामी ४३ कार्यसमितिका अध्यक्षहरू थियौं। विधानले एनसीसीको अध्यक्ष सहभागी बन्न नपाउने भनेर लेखेको छैन। यसमा अंकुश लगाउन जरुरी छैन ।’

भेलाबाट संस्थाको बेहित तथा अहिलेको आईसीसीको विरुद्वमा कुनै पनि निर्णय नभएको पनि अध्यक्ष डुम्रेले बताएका छन्।

९,कार्तिक.२०७८,मंगलवार ०७:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्