भैरहवा विमानस्थलमा साढे दुई अर्बको बुद्धमूर्ति राखिँदै, राष्ट्रपतिले अनावरण गर्ने

रुपन्देही । रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँको बुद्धमूर्ति राखिने भएको छ ।

विमानस्थल परिसरमा राखिने मूर्ति ‘ह्वाइट जेड’ धातुबाट बनेको हुनेछ । उक्त मूर्ति कोलकाताबाट ल्याइएको हो ।

म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन गु्रपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको उक्त बुद्धमूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहल तथा नेपाल सरकारको स्वीकृतिमा राखिने भएको हो ।

उक्त बुद्धमूर्तिको कात्तिक १४ गते राष्ट्रपति बिद्यादेवी भण्डारीबाट अनावरण गरिने कार्यक्रम तय भएको लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ ।

बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुईजना मन्त्रीसमेत आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीले जानकारी दिए ।

एक दशमलव नौ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको सो बुद्धमूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर रहेको गिरीले जानकारी दिए ।

लुम्बिनी गार्डेन फाउन्डेसनले एक सय १० हेक्टर जमिनमा स्पेनमै बनाउन लागेको बुद्धमूर्तिसहितको पार्कका लागि म्यान्मारका खानी उद्योगीले सो बहुमूल्य धातुजडित मूर्ति दिने कुरा भएको थियो ।

फाउन्डेसनका महासचिव एकराज गिरीले भने, ‘हामीले बुद्ध जन्मेको देशमा पहिला उक्त मूर्ति राख्न भनेपछि सोहीअनुसार योजना बनेको हो ।’

म्यान्मारबाट मूर्ति ल्याउन ‘ट्रान्स्पोर्टेसन चार्ज’ मात्रै १२ हजार अमेरिकी डलर लागेको फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले बताएका छन् । उक्त मूर्ति नेपाल ल्याउँदा लाग्ने भन्सार शुल्क भने नेपाल सरकारले छुट दिएको उनले बताए ।

म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन गु्रपले स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनलाई दुई करोड १६ लाख अमेरिकी डलर (साढे दुई अर्ब नेपाली रुपैयाँ) बराबरको उक्त मूर्ति सहयोगस्वरूप दिएको लुम्बिनीका नगरप्रमुख मनमोहन चौधरीले बताएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा मूर्ति स्थापनासँगै शान्तिका प्रतीक भगवान् गौतम बुद्धका माध्यमबाट नेपाललाई विश्वभर प्रचारप्रसार गर्न थप सहयोग पुग्ने चौधरीले बताए ।

विदेशमा रहेका नेपाली र नेपाललाई माया गर्ने विदेशी नागरिकको सहयोगमा मूर्ति स्थापना हुन लागेको र यसले विश्वभर नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीलगायतको टोलीले स्पेनको एक कार्यक्रममा भाग लिन गएका बेला मूर्ति राख्ने विषय औपचारिक रूपमा अघि बढेको थियो ।

१७,आश्विन.२०७८,आईतवार ११:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्