भारतको आयकर विभागले बलिउड अभिनेता सोनु सुदले २० करोड भारुभन्दा बढी कर छलेको खुलासा

मुम्बई । भारतको आयकर विभागले बलिउड अभिनेता सोनु सुदले २० करोड भारुभन्दा बढी कर छलेको जनाएको छ । सुदको मुम्बईस्थित घरमा लगातार तीन दिन छापा मार्दै विभागले शनिबार विज्ञप्ति सार्वजनिक गरेको हो ।

विदेशी दाताबाट अभिनेता सुदले क्राउड फन्डिङ प्लेटफर्मबाट २.१ करोड ननप्रोफिट सम्पत्ति जुटाएको र यो कार्य भारतीय कानूनको विपरित भएको विभागले जनाएको छ । पछिल्लो साता दिल्ली मुख्यमन्त्री अरविन्द केजरीवालसँग सहकार्य घोषणा भएको केही दिनमै आयकर विभागले सुदको घरमा छापा मारेको हो ।

भारतमा सुरु भएको कोरोनाको पहिलो लहरको बेला सुदले स्थापना गरेको सोनु सुद फाउन्डेसनलाई अहिलेसम्म १८.९४ करोडको डोनेसन मिलेको छ । जसमध्ये १.९ करोड विभिन्न कार्यमा खर्च भएको छ भने १७ करोड अहिले पनि खातामै छ ।

स्रोतका अनुसार लखनउको एक रियल स्टेट कम्पनीसँग सोनु सुदको फाउन्डेसनले हालै एउटा व्यापार सम्झौता गरेको र यसमा पनि कर छलिएको अनुमान गरिएको छ ।

महाराष्ट्रमा सत्तारुढ शिव सेना र दिल्लीमा सत्तारुढ आम आदमी पार्टीले यो समयमा भएको छापालाई लिएर प्रश्न उठाएका छन् । तर, बीजेपीले चाहिँ छापामारी र समयबीच कुनै सम्बन्ध नरहेको बताएको छ ।

२,आश्विन.२०७८,शनिबार १४:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्