एनआरएन निर्वाचन २० अक्टोबरमै, विवाद टुंगिनासाथ निर्वाचन कार्यतालिका आउने

काठमाडाै‍ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ।

निर्वाचन प्रतिनिधिमा गोलमाल भएको भन्दै असन्तुष्ट समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि हाल निर्वाचन प्रक्रिया बन्द गर्न मन्त्रालयबाट निर्देशन भएसँगै अब निर्वाचन के होला भन्नेबारे एनआरएनए वृत्तमा चासो उत्पन्न भइरहेको बेला समितिले शुक्रबार विज्ञप्तिमार्फत महाधिवेशनमा कुनै बदमासी हुन नदिने बताएको हो।

२०२१ अक्टोबरमा हुने निर्वाचनलाई विवादरहित बनाउन अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा जुटेकोसमेत विज्ञप्तिमा स्पष्ट पारेको छ ।

पौडेल नेतृत्वको एनआरएनएको निर्वाचन समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) रहेका छन् । यस्तै सदस्यहरूमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिवी ढकाल (यूके), डा.विष्णुमाया परियार (अमेरिका), डा.देवकाजी डंगोल (कतार), डा.गणेश गुरुङ (नेपाल) रहेका छन् ।

जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको जानकारी दिएको छ।

‘निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्नासाथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने छ र अन्य आवश्यक काम अघि बढाउने छ’, समितिको विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको भन्दै एनआरएनले हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको बताएको छ।
गैरआवासीय नेपाली सङ्घको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुँदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी व्यवस्था गरिएको छ ।

त्यसका लागि नेपालीको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनोट भैसकेको छ । प्राविधिकलगायत अन्य विविध पूर्व तयारी भइसकेको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरू (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट बञ्चित हुने अवस्था आउन सक्छ । यसतर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समितिले अनुरोध गरेको छ ।

‘प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरुले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो अनिवार्य पठाउनुपर्ने हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘सबै मतदाताहरूलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ ।’

गैरआवासीय नेपालीको अवस्था प्रष्ट देखिनका लागि भिसासहित ‘आइडि कार्ड’ पनि आवश्यक भएकाले यदि सदस्यता लिइसकेपछि पछाडि नवीकरण गरिएका भिसा तथा आइडि कार्ड उपलब्ध गराउनसमेत आग्रह गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूले आफ्नो मताधिकारलाई सुरक्षित राख्न तोकिएका मापदण्डको पालना गर्दै आवश्यक सूचनाहरूका लागि निर्वाचन समिति, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवालयमा सम्पर्क गर्न भनिएको छ।

हेर्नुहोस् विज्ञप्ति

एनआरएनए निर्वाचन समितिको प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्नका संघले अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा गत जुलाई देखि नै जुटिरहेको छ । जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरुलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको छ । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको छ ।

गैरआवासीय नेपाली संघको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुंदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरुको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनौट भैसकेको छ । प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरु (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नु पर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनु पर्ने हुन्छ । सबै मतदाताहरुलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ । अहिले सोही अनुसार फोटो संकलनको काम जारी छ । निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट बन्चित हुने अवस्था आउन सक्छ । यस तर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समिति अनुरोध गर्दछ ।

गैरआवासीय नेपालीको अवस्था प्रष्ट देखिनका लागि भिसा सहितको आइडि कार्ड पनि आवश्यक भएको हुनाले यदि सदस्यता बनि सकेपछि पछाडि नविकरण गरिएका भिसा तथा आइडि कार्ड भए [email protected] मा पठाइ दिन हुन समेत सुचित गरिन्छ । आसन्न निर्वाचन सम्पन्न गर्नका लागि यसअघि नै ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) रहनुभएको छ । निर्वाचन समितिका सदस्यहरुमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिीवि ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका), डा. देवकाजी डंगोल (कतार), डा. गणेश गुरुङ्ग (नेपाल) हुनुहुन्छ ।

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि समितिले आइटी विज्ञहरु सहितको उप समिति बनाएर आवश्यक सरसल्लाह लिंदै आफ्नो तयारी र काम अगाडि बढाइराखेको छ । निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्न साथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने छ र अन्य आवश्यक काम अघि बढाउने छ । निर्वाचनका बाँकी आवश्यक प्रकृयाका लागि समयको अभाव नभएकाले निर्वाचन समिति तोकिएको समयमा निर्वाचन गराउन प्रतिबध्द रहेको विश्वास दिलाउँदछ । महाधिवेशन प्रतिनिधिहरुले आफ्नो मताधिकारलाई सुरक्षित राख्न तोकिएका मापदण्डहरुको पालना गर्दै आवश्यक सूचनाहरुका लागि निर्वाचन समिति, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवालय र आफ्नो देशको राष्ट्रिय समन्वय परिषदको इमेल र सूचनाहरु हेर्दै आवश्यक सहयोग गरिदिनुहुने विश्वास निर्वाचन समितिको छ ।

निर्वाचन समिति,
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
१७ सेप्टेम्बर २०२१

२,आश्विन.२०७८,शनिबार ०९:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्