बागमती प्रदेशसभा बैठक तोकिएको समयमा बस्न सकेन

मकवानपुर । बागमती प्रदेशसभाको मंगलबार २ बजेका लागि तय गरिएको बैठक साढे ३ बज्दासमेत बस्न सकेको छैन ।
प्रदेशसभाको नियमावली संशोधनका लागि सर्वदलीय बैठक बस्न नसकेकाले बैठक सुरु हुन ढिलाइ भएको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।

सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभाको नियमावली संशोधनका लागि विपक्षी दलहरुले साझा धारणाका लागि सर्वदलीय बैठक बस्नु पर्ने माग गरेका थिए ।

प्रमुख सचेतक निरौलाका अनुसार प्रतिपक्ष दलका केही नेताहरु जिल्ला बाहिरबाट आउनु पर्ने भएकाले सर्वदलीय बैठक बस्न ढिलो भएको हो ।
छिट्टै दलका नेताहरु बसेर प्रदेशसभा नियमावली संशोधन समितिका लागि नाम सिफारिस गरी सकेपछि प्रदेशसभा बैठक बस्ने उनले बताए ।

गत असार २८ गते चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक ३५ दिनपछि आज बस्न लागेको हो ।

प्रदेशसभा सचिवालयका अनुसार बागमती प्रदेशसभा बैठक लगातार २ दिनसम्म चल्ने कार्यसूची तयार प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा बैठकको कार्यसूची अनुसार बैठकमा शून्य समय र विशेष समयको व्यवस्था गरिएको छ भने प्रदेशसभाको बैठकको सुरुवातमा यसअघि संसद्ले पारित गरेको विधेयकलाई प्रदेश प्रमुख कार्यालयबाट प्रमाणीकरण गरिएको ब्यहोराको पत्र वाचन गरिने कार्य सूची रहेको छ ।

त्यस लगत्तै बैठक शून्य समयमा प्रवेश हुने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । त्यस्तै प्रवक्ता अमात्यका अनुसार आजको बैठकमा प्रदेशसभा नियमावली संशोधन प्रस्ताव प्रस्तुत हुनेछ ।

१,भाद्र.२०७८,मंगलवार १६:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्