Saturday 26th of May 2018

भागबण्डामा मिलेको नेकपा एक वर्षमै फुट्छः बिजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक नभई भागबण्डाको आधारमा भएको बताएका छन् ।

बिजुक्छेंले एसियाकै ठूलो कम्युनिष्ट पार्टीका रुपमा उदाएको भन्ने भनाई गलत भएको टिप्पणी समेत गरे । दुई पार्टीको एकतालाई हेर्दा सैद्धान्तिक भन्दा पनि भागबण्डामा केन्द्रित भएकाले दीर्घकालिन स्वरुप नदेखिएको उनले बताए ।

उनले रुसको कम्युनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो भए पनि सैद्धान्तिक पाटोलाई आत्मसाथ गर्न नसक्दा देशै टुक्रा टुक्रा भएको नजिर नेपाल कम्युनिष्ट पार्टीका हस्तीहरुले बुझ्नु पर्ने बताए ।

हालको पार्टी एकता त्याग र योग्यताका आधारमा नभई भागबण्डाको आधारमा भएकाले केही वर्ष भित्रै फुटको अवस्था पुग्ने उनले बताए ।

वर्तमान सरकार ठेकदार, दलाल, गुण्डा र काला ब्यापारिको आडमा चलेको बताउँदै चुनावमा खर्च भएको रकम असुल्नलाई लागेकाहरुकै कारण वर्तमान सरकाले जनताको हितमा काम गर्ने छेक छन्द नदेखिएको उनले बताए ।

उनले पञ्चायतले तीस बर्ष शासन गर्दा देश र जनताको हितमा काम गर्न नसके जस्तै वर्तमान सरकाले पाँच वर्ष सत्ता चलाए पनि कुनै उपलब्धि हासिल गर्न नसक्ने बताए ।

उनले आफ्ना कार्यकर्तालाई मात्र पोषण गर्ने जुन परिपाटी देखिएको छ यसकै कारण पञ्चायतको शासन जस्तै यो सरकार रहने बताए । पञ्चायत जस्तै कांग्रेस एमाले र वर्तमान सरकार पनि अधिनायकवाद शैलीमा काम गरिरहेको आरोप लगाउँदै बिजुक्छेंले वर्तमान सरकार गुण्डाराजमा चलिरहेको बताए ।

बिगतमा सरकारका प्रमुख भारत गएर देशका नदी नाला बेच्ने गरे पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा बोलाएर अरुण तेस्रोको साँचो हस्तान्तरण गर्दै वर्तमान सरकाले आफ्नो चरित्र प्रष्टाएको उनले बताए ।

मोदीको नेपाल भ्रमण उपलब्धीमुलक भन्दा पनि आर्थिक ब्ययभार थप्ने काम गरेको उनको भ्रमण लगत्तै पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिले प्रष्टाएको उनले बताए ।

सिंहदरवारको अधिकार स्थानीय तहमा नपुगेको बताउँदै उनले यसलाई चुनावको आकर्षक नारा मात्र एमाले र माओवादीले बनाएको उनले
बताए ।

Shares