Saturday 26th of May 2018

तस्करीको ८८ किलो सुन मुद्दाका २ अभियुक्तलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । ८८ किलो सुन तस्करीमा संलग्न भएको अभियोगमा जिल्ला अदालत काठमाडौं र पाटन उच्च अदालतले थुनामा पठाएका २ जनालाई सर्वोच्च अदालतले धरौटीमा छोड्न आदेश दिएको

उच्च अदालतको आदेश बदर गर्ने माग गर्दै ८८ किलो सुन तस्करीमा मुछिएका नन्दकुमार पाण्डुरंग र उल्लाहस दिनकर सालुङ्गे गएको चैतमा सर्वोच्च अदालत गएका थिए।

बिहीबार न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलासले दुबै जनालाई ५ लाख धरौटी लिएर थुनामुक्त गरी मुद्दाको पुर्पक्ष गर्न जिल्ला अदालत काठमाडौंलाई आदेश दिएको हो।

काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुनतस्करीमा उनीहरू संलग्न रहेको प्रमाण अहिलेसम्म नदेखिएको सर्वोच्च अदालतको आदेशमा उल्लेख छ।

‘यी निवेदकहरु सुन रिफाइन गर्ने पेसासँग सम्बन्धित देखिए पनि बरामद भएको सुनको कारोबारमा संलग्नता रहेको भन्ने तत्काल प्राप्त प्रमाणबाट नदेखिएकोले जिल्ला र उच्च अदालतको आदेश वेरितको देखिँदा वदर गरिदिएको छ,’ आदेशमा भनिएको छ,’अब यी निवेदकबाट जनही ५ लाख नगद वा सोबापत् जेथा वा बैंक जमानत लिई मुद्दाको पुर्पक्ष गर्नुहोला।’

जिल्ला अदालतले उनीहरूलाई गत साउनमा थुनामा राख्ने आदेश गरेको थियो। उच्च अदालत पाटनले फागुन १० गते जिल्ला अदालतको आदेश सदर गरेको थियो।

प्रहरीले गत भदौ २९ गते राजधानीको क्षेत्रपाटीबाट तस्करीको ८८ किलो सुन बरामद् गरेको थियो।

प्रतिक्रिया दिनुहोस्


Shares