Saturday 26th of May 2018

ऊ फोन उठाउन बाथरूम भित्र पसि…

अचानक उसको फोनको घण्टीले ऊ फेरि असहज भई र म रोकिन बाध्य भएँ। उसको फोनको घण्टी लगातर बजिरहयो र उसका कठोर आँखाहरू त्रासले अलि बिचलित जस्ता देखिए। ऊ फोन उठाउन बाथरूम भित्र पसि। उसले सानो स्वरमा हेलो भनेकी थिई तर उताबाट कुनै नाबालकको चर्को रोदन यहाँ मेरो कानसम्मै ठोकिन आइपुग्यो।

तर, बाल रोदनको पृष्ठभूमिमा दुई महिलाहरू बिचको संवाद मैले बुझ्न सकिनँ। ऊ केही क्षणमा फर्केर आउँदा बिद्रोही जस्ता लाग्ने उसका असन्तुष्ट एकजोडा आँखाहरू विवश र रसिला देखिएका थिए।

‘के भयो?’ मैले जान्न चाँहे।

‘केही होइन,’ उसले भन्न चाहिन।

बजारको नियमले आजसम्म कसलाई यसै छोडेको छ। कुन मानवीय संवेदनाले छोएको छ बजारलाई। सौदाबाजहरूका ढुङ्गाका मनहरु बजारको नियम भित्र कैद हुनु सधैंझै आज पनि अनिवार्य छ। अनि फेरि बजार सुरू भयो। सुरु भयो हस्तान्तरण गरिएको स्वामित्वमाथिको उपभोक्ताको अधिकारको प्रयोग! तर घण्टी फेरि पनि बज्यो।

ऊ फोन उठाउन फेरि बाथरुम पसि। मसँग अफसोश गर्नुको बिकल्प थिएन। तर, यो पटक मैले अफसोश मात्रै गरिनँ जान्न चाहेँ उसको निजी जीवनको पर्दा पछाडि नियतिको कस्तो नाटक मञ्चन भईरहेको छ। वास्तवमा हामी सबै आज आवरणमा देखिए जस्तै कुनै क्यानभासको चित्र त होइनौं। पर्दा पछाडि आफ्ना आफ्ना इतिहास लुकाएर वर्तमानमा अरू नै केही हुनुको अभिनय गर्न अभिसप्त पनि त छौं।

आज म किन्न अभिसप्त छु र उ बेच्न विवश छे। मैले उसका पर्दा भित्रको शरीरको लालच त्यागेर उसका निजी जीवन भित्र चिहाएर हेर्ने गल्ती गरेँ। जसले घनघोर निन्द्रामा परेको अथवा निदाएको अभिनय गरिरहेका मेरा संबेदनालाई बिउँझिन बाध्य बनाईदिएको थियो। ‘घरबेटीले थाहा पाएछ! सबै सामान बाहिर फ्याक्देर कोठामा ताल्चा लगाएको छ।

राति नै निस्केर जा भनेको छ जाडोले बाबु रोएर मर्न लागिसक्यो। ज्वरो पनि आएको छ। उल्टि पनि गर्दैछ। जसरी हुन्छ झट्टै आउनू। छोड्दिनु ग्राहक साहक !’ यसपटक बाल रोदन बन्द थियो। तर, उताबाट कुनै नारीस्वर घरबेटीले थाहा पाएर घर निकालामा परेको कुरा सुनाउँदै थिई। ऊ भने चुपचाप सुनिरहेकी थिई।

‘बाबुको निमोनियाको दबाई पनि भित्रै थुनियो। अहिले निस्लट ज्वरो आएर इन्तु न चिन्तु भएर सुतेको छ। छिटो गर हस्पिटल जानुपर्छ,’ उताबाट नारी स्वर निरन्तर उसका कानमा ठोक्किएर मेरा कानमा प्रतिध्वनी भएर गुन्जिरहे। तर, उसले केही जवाफ फर्काईन। पख एकछिनमा फोन गर्छु भनेर राखी दिई।

ऊ बाहिर निस्केर आउँदा कता कता मलाई उसको अनुहार मेरी आमाको जस्तै जस्तै लागेको थियो। उसका आँखामा आफ्नो सन्तानप्रतिको प्रेम, त्यही प्रेम थियो जुन मैले मेरी आमाको आँखामा पाउने गर्थेँ। उसले छोडेको निश्वासको सुस्केरो त्यही थियो जुन मेरी आमा र म पृथ्वीका दुई ध्रुबबाट फोनमा कुरा गर्दा घरी घरी आमाले छोड्नु हुन्थ्यो। ऊ विवश पदचापले जति नजिक आउँदै थिई म भित्रको आमाको प्यारो कान्छो छोरो उतीनै सजिब र जीवन्त हुँदै आफ्नी आमाको प्रतिछाँया नियाल्दै थियो।

‘यी यो पैसा,’ उसले पैसा फिर्ता दिँदै भनी।

‘के भयो?’ म अनविज्ञ नै रहन चाहेँ।

‘म जानुपर्ने भो,’ उसले आँखा झुकाएर भनी।

‘किन?’ मैले खोतल्न छोडिनँ।

‘घरमा पाहुना आएका छन्,’ उसले ढाँटी।

‘पैसा राख,’ मैले पैसा फिर्ता लिन सकिनँ।

‘तर……….!’

‘पछि कुनै दिन भेटौंला।’

उसका आँखामा कृतज्ञताको भाव झल्केको थियो। तर, मैले आफूलाई महान महसुस गर्न सकिनँ। मैले लगभग भताभुङ्ग बनाईसकेकी ऊ आफूलाई ठिकठाक गर्न थाली। कपाल समेटेर जुरो बनाई। भुईमा छरपस्ट भएका कपडा समेटेर लगाई अनि मजेत्रो ओडी। मलाई कता कता अपराधबोधले आत्माग्लानी भइरहेको थियो।

‘कसरी जान्छौ तिमी?’

ऊसँग जवाफ थिएन। सायद हतारमा सोचेकी पनि थिईन कि! काठमाडौंको कुनै दुर्गम यो गल्लीमा मध्यरात अब कुनै साधन पाउनु लगभग असम्भव नै भइसकेको थियो।

‘बाहिर केही पाउला नि!’ उसलाई आफ्नै आशाप्रती भरोसा थिएन।

‘म छोड्दिउ’, मैले प्रस्ताव राखेँ। उसले समर्थनमा टाउको हल्लाई।

पूर्बेली ठिटोले फोन बन्द गरेको थियो। उसले पनि एक/ दुई ठाउँ प्रयास गरि। तर, कोही उपलब्ध भएन। त्यसपछि हामी त्यो अध्यारो गल्लीहुँदै सडकमा निस्कियौं। धेरैबेर भौतारिएपछि बल्ल एउटा ट्याक्सी भेटियो। ट्याक्सी लिएर उसको कोठा पुग्दा दृश्य दारूणिक थियो। सुत्ने ओछ्यानदेखि भाँडाकुँडा सबै बाहिर फ्याकिदिएर कोठामा ताल्चा लगाएको रहेछ घरबेटीले। कारण थियो-उसले शरीर बेचेर त्यही आफ्नो र छोराको शरीर धान्नु।

ज्वरोले शिथिल भएको उसको छोरो अर्की एउटी नारीले काखमा लिएकी थिई। छिप्पिदै गरेको रातको जाडोमा, अन्धकार छिँडीमा बेघरबार उनीहरु अनिश्चयको डरलाग्दो भूमरीमा छट्पटी रहेका थिए। छोरो आमालाई जिम्मा लगाएर, म रूपाकैमा सुत्छु तिमी छोरा लिएर अघिकै कोठामा जाउ भनेर उसको छोरो जिम्मा लिएकी साथी हतारमा बाटो लागि।

सायद उनीहरूले ग्राहकका निम्ति मात्रै लिएको भर्खर हामी फर्किएको कोठाको कुरा गर्दै थिई उसले। त्यो रात उसको छोरालाई फार्मेसीमा जचाँएर निमोनियाको दबाई लिएपछि दुबै आमाछोरालाई गेष्ट हाउसमा लिएर आएँ। श्रीमती र छोरा भनेर गेष्टहाउसको खातामा ढाँटेर नाम लेखाएँ।

मध्यरातमा उहीँ चिसो फोहोर र साँघुरो कोठामा आईपुग्दा मलाई चै कता कता सुखद अनुभव भइरहेको थियो। एउटा खाटमा एउटै सिरक ओडेर बिचमा सानो बालकलाई सुताएर सुतिरहँदा नोस्टाल्जिक भएको अनुभूती गर्दै थिएँ।

एक रातको क्षणिक र भ्रामक त्यो अनाम सम्बन्धले मलाई धेरैपछि पारीवारिक हुनुको सुखद् अनुभूति गराएको थियो। त्यो नाबालकको टाउको छामे ज्वरो अलि घटेर निदाउन सक्ने भएछ। आमा चै पनि भर्खरै निदाएकी थिई। अचानक र अनायासै भइरहेको सुखद अनुभूतिले हल्का भएको मेरो मन मस्तिष्कलाई बिस्तारै निन्द्राले छोप्दै लगेको थियो।

Shares