Smiley face

हिटलरको मृत्यु क्याम्पभित्र यसरी अंकुरायो प्रेम, प्रेमकहानी अहिलेसम्म किन लुकिरहेको छ ?

के मर्ने लाइनमा बसेको कुनै व्यक्तिको दिल अरु कसैको लागि धड्किन सक्छ ? जब आफ्नो ज्यान नै नजोगिने र कसरी बचाउने भन्ने अन्योल र आपत् अवस्थामा कसैले आफ्नो ज्यानको बेवास्ता गरी आफूलाई माया गर्ने मायालुको खोजी गर्न सक्छ ?

यदि यसको जवाफ तपाईंसँग छैन सायद तपाईंसँग प्रेमको ताकतबारे थोरै पनि थाहा छैन । प्रेम यस्तो चिज हो, जुनसँग ठूलो शक्ति हुन्छ, दुनियाँ पल्टाउने शक्ति हुन्छ ।

यस्तै प्रेम कहानी बाहिरिएको छ अहिले । यसबारेको नयाँ तथ्य एकदमै रोचक छ । यो कुरा ७० वर्षभन्दा पुरानो रहेको छ । त्यो मृत्यु घर थियो । जहाँ हिटलरको शासन चल्थ्यो । जसले मानवताको विरुद्धमा सबैभन्दा बढी पाप गरेको थियो । जसले लाखौँ मानिसर्ला नजरबन्दमा राखेको थियो । त्यसमध्ये हजारौँ मानिस ग्यास चेम्बरमा हालेर मारिएको थियो भने अन्य कैयौँ मानिसहरुलाई नजरबन्दमा चीसो र भोकमरीमा पारेर मारिएको थियो ।

हिटलरको पाशविक हर्कतको सबैभन्दा ठूलो केन्द्र थियो पोल्याण्डको आश्वित्ज । यो नै नाजी शासनको सबैभन्दा ठूलो नजरबन्द गर्ने शिविर थियो । नाजीका जासुस एजेन्सी एसएस यहाँ युरोपभरबाट यहुदीहरु पक्रेर ल्याउने गर्थे ।

यीमध्ये धेरै मानिसलाई क्याम्पमा ल्याउनसाथ ग्यास चेम्बरमा हालेर मारिन्थ्यो । तीमध्ये कोही यस्ता पनि थिए, उनीहरुलाई महिनाँै तड्पाएर मारिन्थ्यो । उनीहरुको शिरको कपाल काटिन्थ्यो । कपडा उतारिन्थ्यो र दिनरात काममा लदाइन्थ्यो । उनीहरुलाई केवल जिउँदो रहनका लागि खाना दिइन्थ्यो ।

उनीहरु पेटभर खानाको लागि तड्पिराख्नुपथ्र्यो । मानिसहरु परिवारबाट छिन्नभिन्न हुन्थे । नचिनेका मानिसहरुको भीडमा हुन्थे । जो कमजोर हुँदै जान्थे, जसबाट काम हुँदैनथ्यो, त्यस्ता मानिसलाई ग्यास चेम्बरमा लगेर मारिन्थ्यो ।

आश्वित्जमा हिटलरको पाशविक कृत्यको सिलसिला धेरै वर्षसम्म जारी रह्यो । सन् १९४५ मा दोस्रो विश्वयुद्ध सकिएपछि सोभियत संघको सेनाले जब आश्वित्जमा कब्जा गरे, त्यसपछि मात्रै यो हत्याको सिलसिला अन्त्य भएको थियो ।

हातमा कैदीको नम्बर 

आश्वित्ज क्याम्प एकदमै खतरनाक थियो । यहाँ पुग्नासाथ सबैभन्दा पहिला मानिसको पहिचान अर्थात् नाम लुटिन्थ्यो र मानिसहरुको हातमा कैदी नम्बर लेखिन्थ्यो । हातमा नम्बर टाँसिएपछि कसैले पनि आफ्नो नाम लिन पाउँदैनथ्यो । उनीहरु केवल नम्बरबाट परिचित हुन्थे ।

आश्वित्ज क्याम्पमा एक कैदी थियो, जसको नम्बर थियो ३२४०७ । यो कैदीको बारेमा किताब नै लेखिएको छ । जसको नाम हो द ट्याटुइष्ट अफ आश्वित्ज अर्थात् आश्वित्जका ट्याटुवाला ।

आश्वित्जका कैदी नम्बर ३२४०७ को वास्तविक नाम थियो लुडविग लेल आइजेनबर्ग । लुडविग एक यहुदी थिए । उनको जन्म स्लोभाकियामा सन् १९१६ मा भएको थियो ।
यो कुराचाहिँ १९३२ को हो । त्यतिखेर लुडविग उर्फ लेल मात्र २६ वर्षका थिए । एक दिन अचानक नाजी प्रहरी उनको घरमा आयो । परिवारलाई थाहा भइहाल्यो — अब केही नराम्रो हुनेछ ।

लेल त्यतिबेला बेरोजगार थिए । उनको विवाह भएको थिएन । लेलले आफैँ नाजी सेनाको लागि काम गर्न तयार भएको जनाउ दिए । लेललाई लागेको थियो कि यसले उनको परिवार बचाउनसकिन्छ ।

के काम गर्थे हिटलरका कैदीहरु ? 

लेललाई गिरफ्तार गरेर पोल्यान्डको आश्वित्ज नजरबन्दी क्याम्पमा लगियो । त्यहाँ उनको हातमा ३२४०७ छाप लगाइयो । लेललाई बाँकी कैदीसँगै काममा लगाइयो । त्यहाँका कैदी बाहिरबाट आउनेवाला यहुदी नजरबन्दीहरुको लागि घर बनाउँथे ।

आश्वित्ज क्याम्पमा पुगेको केही दिनपछि लेललाई टाइफाइड भयो । त्यस क्रममा फ्रान्सबाट ल्याइएका एक यहुदी कैदीले उनको रेखदेख गरे । उनको नाम पेपन थियो । लेललाई नजरबन्दमा रहुन्जेल चुपचाप बस्न पेपनले सिकाएका थिए । त्यहाँका सेनासँग कुनै पनि अन्टसन्ट कुरा नगरी आफ्नो काम गर्न उनलाई सुझाइएको थियो । सेनाबाहेक अरुसँग पनि खासै कुराकानी नगर्न भनियो । पेपनलाई टाटु बनाउन आउँथ्यो । उनले नै लेललाई ट्याटु खोपाउन सिकाए ।

एक दिन पेपन अचानक गायब भयो । फेरि लेल र पेपनबीच कुनै भेटघाट भएन । लेलले ट्याटु बनाउन सिकिसकेका थिए । सोही कारण नाजी प्रहरीले अन्य नयाँ कैदीको हातमा ट्याटु खोप्न लेललाई जिम्मा दिए । लेललाई धेरै भाषा पनि आउँथ्यो । उनलाई जर्मन, रसियन, फ्रेन्च, स्लोभाकियन, हंगेरियन र पोलिस समेत आउँथ्यो । यही कारण उनलाई ट्याटु खोप्ने जिम्मा दिइएको थियो ।

ट्याटु बनाउन झोलाभरि सामान दिइयो । उनी बाँकी केदीभन्दा छुट्टै कोठामा बस्न पाएका थिए । उनलाई खाना पनि धेरै दिइन्थ्यो । एउटा सिपाहीले उनको निगरानी गथ्र्यो ।

कैदी छान्ने काम 

लेलको जिन्दगी अन्य कैदीको तुलनामा एकदमै राम्रो थियो । तर मृत्युको डर जहिल्यै टाउकामा रहिरहन्थ्यो । जब त्यहाँका कैदी राति सुत्थे, कसैलाई पनि बिहान जिउँदै उठेर संसार देख्छु जस्तो लाग्दैनथ्यो । लेलको जिन्दगी पनि यसबाट अछूतो थिएन । उनलाई थाहा थियो कि ग्यास चेम्बरमा के के भइरहेको छ ।

लेल दैनिक रुपमा कैदीहरुको भीड देख्थे । उनीहरुको हातमा सुई लगाएर नम्बर लगाइन्थ्यो । उनीहरु मानिसको पहिचान मेटाउँथे सदाका लागि । हातमा नम्बर लगाइन्थे । लेललाई कुनै कैदी कहिले मर्दै छ यी सबै थाहा हुन्थ्यो । कुनै यस्ता कैदी हुन्थे कि उनीहरुलाई आउनासाथ ग्यास चेम्बरमा हाल्ने तय भए हातमा नम्बर लगाइँदैनथ्यो ।

आश्वित्ज क्याम्पमा नाजी कमान्डर जोसेफ मेंगेल नै प्रायः कैदीको छाँटकाँट गर्थे । उनले नै कुन कैदीलाई यहाँ आउनासाथ मार्ने कि राख्ने भनी निर्णय दिन्थे । कतिपय भोका, अर्धनग्न मानिसका तस्बिर पनि लिइन्थ्यो । ता कि उनीहरुलाई मारियो भनी सबुत आफ्ना हाकिमलाई दिन सकियोस् ।

आएको दुई वर्षसम्म लेल आइजेनबर्ग पनि आश्वित्जको क्याम्पमा कैदीहरुको हातमा नम्बर लगाएर बसे । यसमा प्रायः बच्चा र कमजोर महिला पर्थे । उनीहरुको काँपिरहेको हत्केला र डर भरिएको आँखो देखेर लेललाई भावुक बनाउँथ्यो ।

सन् १९४३ को वर्ष सकिँदै गर्दा आश्वित्जमा बाँकी सबै कैदीलाई नम्बर लगाइसकिएको थियो ।

जब एउटी महिलाको हातमा ट्याटु गर्नुपर्यो …

जुलाई महिना १९४२ को कुरा हो । जब लेलको हातमा पर्चा थमाइयो कैदी नम्बर ३४९०२ को । उनलाई यो नम्बर नयाँ आएको थियो, जसको हातमा यो नम्बर लगाउनुपथ्र्यो । यो नम्बर एउटी महिलाको लागि थियो ।

लेलको लागि यो कुनै नौलो काम थिए । उनी प्रायः महिलाको हातमा पनि नम्बर लगाइरहेकै हुन्थे । तर यी महिलाको कुरा केही अचम्मको थियो । लेलले महिलाको हातमा ट्याटु बनाउन सुरु गर्नै लागेका थिए । हात काँपिरहेको थियो । साथी पेपनले उनलाई नहडबडाई नडराईकन ट्याटु लगाउने काम गर्न लगाए ।

लेलले ती युवतीको हात समाए र ट्याटु खोप्न लागे । यही बेला उनको आँखा ती युवती (महिला)को आँखासँग जुध्यो । लेलले युवतीको आँखामा फरक पाए । दुईको आँखा चार भयो । तत्कालै युवतीले पनि आफसेआफ उनको दिलमा ट्याटु खोपिदिन पुगे । चारैतर्फ मृत्यु खडा भएको हिटलर क्याम्पमा समेत दुई मुटु मिलेर एक भएर धड्किएको थियो ।
ती युवतीको नाम गीता थियो ।

प्रेमकहानी अहिलेसम्म किन लुकिरहेको छ ?

लेल र गीताको प्रेमको यही कहानी द ट्याटुइष्ट अफ आश्वित्ज नामको किताबमा आएको छ । यो किताब अष्ट्रेलियाका फिल्म निर्माता हिदर मोरिसले लेखेका हुन् । मोरिसको भेट लेलसँग धेरै वर्ष पहिले भएको थियो । उनलाई जब लेल आश्वित्ज क्याम्पका नजरबन्दी रहेको थाहा भयो, मोरिसले उनीबारे फिल्म बनाउने सोच बनाए ।

वर्षौँदेखि लेलले यो कुरा लुकाएर राखेका थिए कि उनी नाजी क्याम्पमा ट्याटु खोपाउने काम गर्थे । नाजीको साथी भनेर आफूलाई पनि सम्झेलान् भन्ने डरले उनले यो कुरा कसैलाई पनि भनेका थिएनन् । जबकि उक्त काम गर्नपर्नु उनको मजबुरी थियो आफ्नो ज्यान बचाउनको लागि ।

लेलकी प्रेमिका हुँदै श्रीमती बनेकी गीताले लेललाई यो सत्य कुरा बाहिर नल्याउन सधैँ रोक्दै आएकी थिइन् । तर सन् २००३ मा जब गीताको मृत्यु भयो, लेलले मर्नुअघि आफ्नाबारेको विगत भन्नु आवश्यक रहेको ठाने । सोही क्रममा हिदर उनको घर आउने र जाने क्रम चल्यो । लेलले सन् २००६ मा आफ्नो मृत्युअघि आश्वित्ज क्याम्पमा आफ्नो सबै विगतहरु हिदरलाई भनिदिए ।

हातमा कैदी नम्बर ३४९०२ खोपाउँदै लेलले उनको नाम गीता रहेको थाहा पाइसकेका थिए । दुई बीच प्रेम भयो । गीतालाई आश्वित्जको नजिकै बिर्केनुको नजरबन्दी क्याम्पमा राखिएको थियो । लेलले सुरक्षा गार्डको मद्दत लिएर गीतालाई पठाउनतिर लागे ।

उनी गीताको खुबै ख्याल गर्ने गर्थे । कैदीहरुलाई निकै कम खाना मिल्थ्यो । तर ट्याटु बनाउने भएकैले लेललाई पूरै खाना मिल्थ्यो । उनले आफ्नो खाना बचाएर लुकिछिपी गीतालाई पठाउँथे । लेल गीतासँगै उनीसँगै रहेका अन्य कैदी साथीलाई पनि मद्दत गर्थे ।

कसरी छुटे लेल र गीता ? 

यो सिलसिला करिब दुई वर्षसम्म चल्यो । गीता र उनको बीचमा प्रेम अंकुराइरह्यो । सन् १९४५ मा आफ्नो हार देखेपछि नाजी सैनिक आश्वित्ज र दोस्रो क्याम्पबाट कैदीहरुलाई दोस्रो क्याम्पमा लैजानथाले । यही सिलसिलामा गीतालाई पनि अन्तै लगियो र लेलसँग वियोग हुनपुग्यो । लेललाई खालि गीता फुर्मानोवा आफ्नी प्रेमिकाको नाम हो भन्ने मात्र थाहा थियो । यसबाहेक केही थाहा थिएन ।

सोभियत सेनाले आश्वित्ज क्याम्पलाई नाजीबाट मुक्त गराएपछि लेल एउटा घोडागाडी लिएर चेकोस्लोभाकियामा आफ्नो सहर क्रोमपाचीतिर फर्किए । उनलाई केवल गीताको यादले सताउँथ्यो । उनी गीतालाई खोज्न चाहन्थे ।

लेलसँग यहुदी कैदीहरुले दिएका केही गहना थियो । जसको मद्दतबाट उनी आफ्नो घर फर्किए । त्यहाँ आफ्नी बहिनीलाई भेटे । संयोगवश लेलको घर पनि नाजीहरुले नै बकस दिएका थिए । अब लेलको जिन्दगीको एउटै उद्देश्य गीताको खोजी भयो ।

गीताको खोजी

आफ्नो सहरदेखि उनी स्लोभाकियाको सहर ब्राटिस्लाभा फर्किए । धेरै हप्ता बिहानदेखि बेलुकासम्म ब्राटिस्लाभाको रेलवे स्टेसनमा आउने गाडी हेर्ने गर्थे किनकि गीता यहाँ नै भेटिन्छिन् भन्ने उनलाई विश्वास थियो । एक दिन स्टेसनका मालिकले लेललाई रेडक्रसमा गएर बुझ्न सुझाए । जब लेल आफ्नो घोडा गाडीमा बसेर ब्राटिस्लाभा रेलवे स्टेसनबाट रेडक्रसको कार्यालयतर्फ जाँदै थिए, अचानक एक महिला उनको गाडीको नजिक आइपुगिन् । उनी अरु कोही नभएर लेलकी प्रेमिका थिइन् गीता फुर्मानोवा ।
अक्टोबर १९४५ को दिन उनीहरुले विवाह गरे । दुवैले स्लोभाकियामाथि सोभियत संघको कब्जा भएको देखेपछि गीता र लेल सोकोलोव बनाए । त्यहीँ उनीहरुले कपडाको पसल खोलेर जिन्दगी अगाडि बढाए ।

इजरायलको मद्दत गर्दा सरकारको कारबाही 

तर एक दिन सरकारले उनीहरुलाई पक्राउ गर्यो । गीता र लेलले इजरायलको मद्दतका लागि पैसा पठाउँथे । यसलाई देशद्रोह मानेर उनीहरुको सबै कारोबार सरकारले रोकिदियो । दुवै कैद जीवन बिताउन बाध्य भए । केही दिनपछि दुवै जेलबाट भागे । भिएना गए अनि त्यहाँबाट पेरिस पुगे । त्यसपछि उनीहरुले युरोपबाटै धेरै टाढा पुग्ने निर्णय लिए । सोही निर्णयअनुसार उनीहरु युरोपबाट अष्ट्रेलिया पुगे । यहाँ उनीहरुले सिडनीमा नयाँ तरिकाबाट जिन्दगी सुरु गरे । लेलले पुनः कपडाको कारोबार गर्नथाले भने गीताले ड्रेस डिजाइनिंगको काम गर्न थालिन् । सन् १९६१ मा दुवैको छोरा जन्मियो । जसको नाम गैरी राखे उनीहरुले ।

मान्छेको राक्षस बन्ने समयको कथा

गीता र लेलले आफ्नो प्रेमभरी बाँकी जिन्दगी मेलबर्न सहरमा बिताए । यो क्रममा गीता धेरैपटक युरोप गइन् तर लेल फर्केर युरोप कहिल्यै गएनन् । उनलाई डर लाग्थ्यो कि कहीँ आफ्नो नाजी क्याम्पको ट्याटुसँगै खोपिएको विगत अरुले थाहा पाउँछन् र अप्ठ्यारो पर्नसक्छ भन्ने । गीताले पनि यो कुरा नभन्न लेललाई रोक्दै आएकी थिइन् । तर २००३ मा गीताको मृत्यु भए पनि लेलले आफ्ना बारेमा लुकेका तथ्य लुकाएरै मर्नुभन्दा संसारले थाहा पाउनुपर्छ भन्ने ठाने । तर उनलाई यो रहस्य खोल्दा नाजी युद्ध अपराधमा कारबाही हुनसक्ने डर भने थियो । सोही कारण उनी युरोप फर्किएनन् ।

तर हिदरलाई यो सबै रहस्य पत्ता लाग्यो । धेरै हप्ता लेलसँग हिदरले भेट गरे । ताकि लेललाई भरोसा दिलाउन सकियोस् । अहिले द ट्याटुइष्ट अफ आश्वित्ज नामको किताबमा उनै लेलको प्रेम कहानी चुहिएको छ । यो मानिसको राक्षस बन्ने क्रमको कहानी पनि हो जसबारे आउने पुस्ता अवगत होऊन् ।

बीबीसी हिन्दीबाट अनुदित । 

प्रतिक्रिया दिनुहोस्