Smiley face

यसरी गर्भवती बनायो भेटिएको सीमकार्डले

काठमाडौं । पारिवारिक विखण्डन वा समस्याले आवासगृहहरूमा पुगेका बालबालिकाको कथा सुन्नुभएको छ ? उनीहरूको पीडाले भन्छ– दुःख यस्तोसम्म भोग्नुपर्छ ।
हिंसामा परेका महिला तथा बालबालिकाका लागि एक गैरसरकारी संस्थाले कैलालीको अत्तरियामा सञ्चालन गरेको आवास गृहमा चार महिलासँगै १० बालबालिका बस्छन् । ७ र ६ वर्षका दाजुबहिनी रमेश र सुष्मा साउद पनि विगत डेढ वर्षदेखि त्यहीं बसिरहेका १० जनामध्येकै हुन् ।

बाबुआमा दुवै बेपत्ता भएपछि उनीहरू कैलालीको साविक गोदावरी गाविस ८ मा बड्डीबज्यै अर्थात् आमाकी हजुरआमासँग बस्दै आएका थिए । ती बालबालिका राखेबापत नातिनी बुहारीको गाली खानुपरेपछि बड्डीबज्यैले उनीहरूलाई सुरक्षित आवास गृहमा ल्याएर राखिदिएकी हुन् । त्यसपछि उनीहरू यो अस्थायी केन्द्रलाई नै आफ्नो सधैंको घर ठान्दछन् । दुवै दाजुबहिनी अहिले अत्तरियाकै एक विद्यालयमा दुई कक्षामा पढ्छन् ।

उनीहरूकी बड्डीबज्यै धउली साउदका अनुसार रमेश एक वर्ष नपुग्दै र सुष्मा दुई महीनाको गर्भमा छँदा उनीहरूका बाबुले घर छाडेका थिए । कतै खोजतलास गर्दा पनि उनी फेला नपरेपछि आमा लक्ष्मी माइती डोटी गइन् । अनौठो के भयो भने लक्ष्मी माइत गएपछि उनकी आमा पनि एक्कासि घरबाट गायब भइन् ।

सुष्मा डोटीमै जन्मिइन् । त्यसको दुई वर्षपछि लक्ष्मी पनि अचानक बेपत्ता भइन् । त्यसरी क्रमैसँग हराएका रमेश र सुष्माका आमा, बाबु र हजुरआमा हालसम्म फेला पर्न सकेका छैनन् । सहाराविहीन दुवै बालबालिकालाई धउलीले आफ्नोे एकल महिला भत्ता र दाउरा बेचेको पैसाले आफूसँगै राखेर हुर्काएकी हुन् ।

सुरक्षित गृहमा राखिएका बच्चाहरूसँग भेटेको भन्दै नातिनीबुहारीले घरबाट निकालिदिएपछि अत्तरिया बजारमा तरकारी बेचेर गुजारा चलाइरहेकी ७५ वर्षकी धउली यी दुई बच्चालाई भेट्न आइरहन्छिन् । उनी सुरक्षित गृहका कर्मचारीहरूसँग भन्ने गर्छिन्, “यिनीहरूलाई अब यो घरबाट चाहिं ननिकालिदिनुहोला ।”

कञ्चनपुरको लक्ष्मीपुर गाउँपालिकाकी ६ वर्षीया अस्मिना चौधरी पनि अत्तरियाको सुरक्षित गृहमै बस्छिन् । उनले यो गृहलाई छात्रावासका रूपमा लिएकी छन् । उनी तीन वर्षकी हुँदा बाबु सुग्रिम चौधरीको जण्डिसका कारण मृत्यु भयो । विधवा आमा सीता डगौरामाथि परिवारले हेलाँ गर्न थाल्यो । त्यसपछि काखकी छोरी दिदीघर छाडेर उनी बेपत्ता भइन् ।

कैलालीको मोहनपुर गेटामा ठूलीआमा सरस्वतीसँग बस्दै आएकी अस्मिनालाई उनैले सुरक्षित गृहमा पु¥याइदिएकी हुन् । अस्मिनाका बाबुको नाममा एक बिघा जमीन छ । त्यो जमीन हडप्न बाजेबज्यैले उनीहरूलाई निकालेको ठूलीआमा सरस्वतीले बताइन् । “अस्मिनाको ज्यानमाथि नै खतरा देखेर उसलाई मैले नै सुरक्षित गृहमा पु¥याएकी हुँ, मलाई पनि धम्की आइरहन्छ”, उनले भनिन् ।

अत्तरियामा तीन कक्षामा पढिरहेकी अस्मिना छुट्टीको बेला ठूलीआमाको घर जान्छिन् । आमा कहाँ छिन् उनलाई थाहा छैन । आमालाई उनका बाजेबज्यैले कुटपीट गरी घरबाट निकालेपछि अर्की बहिनी पनि बेपत्ता छिन् ।

एउटै विद्यालयमा दुई कक्षामा पढ्ने गोपाल सिजापति पनि सुरक्षित गृह अत्तरियामै बस्छन् । भारतको गाजियावादमा काम गर्दै बसेका बाबु छविलालको ४ वैशाख २०७३ मा हत्या भएको थियो । गोपाल पनि त्यसबेला आमाबाबुसँग उतै बस्थे । बाबुको हत्यापछि उनलाई लिएर नेपाल फर्किएकी आमा लीलाको पनि २३ पुस २०६३ मा करेन्ट लागेर मृत्यु भयो । बाबुआमाविहीन बनेका गोपाललाई त्यसपछि फुपाजूले यो गृहमा ल्याएर छाडेका हुन् ।

गौरीगंगा नगरपालिका–११, कैलालीका वसन्त र रितेश बैजाली दाजुभाइ उस्तै वियोगको पीडा बेहोर्दैछन् । रितेश तीन महीनाको छँदा बाबुको क्षयरोग लागेर मृत्यु भयो । त्यसपछि आमाले अर्को विवाह गरिन् । उनका दुई दाजुभाइलाई हजुरआमाले आर्थिक अभावका बीच दुःखकष्टसँग हुर्काउँदै आएकी थिइन् । त्यो देखेर राष्ट्रिय मानवअधिकार आयोगमा कार्यरत मानबहादुर नेपालीले उनीहरूलाई यो गृहमा पु¥याइदिएका हुन् ।

अभिभावक नगुमाएका बालबालिका पनि परिवारका संरक्षकबाटै हिंसाको शिकार भई सुरक्षित गृहमा आइपुग्न बाध्य हुने गरेका छन् । कैलालीकी १३ वर्षीया सानु तिनैमध्ये पर्छिन् । गत वर्ष उनको पेट अस्वाभाविक रूपमा बढेको देखेपछि आमाले उनलाई नजिकको अस्पताल लगेर जँचाइन् ।

डाक्टरले सानुको पेटमा आठ महीनाको बच्चा रहेको जानकारी दिए । त्यो खबर सुनेर बेहोश भएकी आमाले होश खुलेपछि छोरीसँग सोधीखोजी गर्दा आफ्नै ५५ वर्षका बाजेको बलात्कारबाट उनी गर्भवती भएको पत्ता लाग्यो । बाजेको धाकधम्कीका कारण उनले घटनाबारे कसैलाई बताउन नसक्दा आठ महीनासम्म गुपचूप रहेको थाहा भयो ।

प्रहरीको सहयोगमा पीडित बालिकालाई महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपाल कैलालीले सञ्चालन गरेको सुरक्षित आवास गृहमा राखियो । त्यहाँ पुगेको १५ दिनमै उनले बच्चा जन्माइन् । आमा र बच्चा दुवै अहिले सोही गृहमा बस्दै आएका छन् । नातिनी बलात्कार गर्ने उनका बाजे चाहिं कैलाली कारागारमा कैद सजाय भोगिरहेका छन् ।

बलात्कार गर्ने बाजेलाई कैद सजाय गरेर मात्र सानुलाई न्याय पाएको अनुभूति हुन नसक्ने ओरेक नेपालकी कैलाली जिल्ला संयोजक विनु राना बताउँछिन् । “जन्मेको साढे चार महीना भइसक्दा पनि बच्चाको जन्मदर्ता भएको छैन । पीडित बालिका र बच्चा दुवैको पुनस्र्थापना गर्न गाह्रो भइरहेको छ”, उनले भनिन् । छोरीलाई केही समयपछि परिवारमा फर्काउन तयार भएका पीडितका बाबुले उनीबाट जन्मेको बच्चालाई भने नस्वीकार्ने बताएका छन् ।

महिला तथा बालबालिकाका लागि सञ्चालित दुई सुरक्षित गृह बाहेक कैलाली जिल्लामा अनाथ बालबालिकाका लागि खुलेका ६ वटा बालगृह पनि छन् । तिनमा १९५ बालबालिका आश्रित छन् । अरू २७ अनाथ बालबालिका एउटा छात्रावासमा बस्छन् । बालगृह, सुरक्षित गृह वा छात्रावासमा बस्ने सबै बालबालिका महिला तथा बालबालिका कार्यालय कैलालीको सिफारिशमा राखिएका हुन् ।

कैलालीमा तीनै किसिमका गृहहरू गैरसरकारी संस्थाले चलाएका हुन् । तिनीहरूले पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड सरकारले तोकिदिएको छ । बजेट र जनशक्तिको अभावमा उनीहरूको अनुगमन गर्न भने नसकिएको महिला तथा बालबालिका कार्यालय, कैलालीकी अधिकृत सन्ध्या सिंहले बताइन् ।

सुरक्षित गृह अत्तरियाकी सञ्चालक जानकी मलासीका अनुसार यहाँ राखिएका बालबालिकालाई माध्यमिक तहको शिक्षा पूरा भएपछि परिवार तथा उनीहरूको नजिकका संरक्षककहाँ पुनस्र्थापना गरिनेछ । यहाँका ६ बालबालिकालाई महिला तथा बालबालिका कार्यालयबाट कागज गरेर त्यसरी पुनस्र्थापित गराइसकिएको छ ।

गृह सञ्चालक मलासी पीडित महिला र बालबालिकाको मानवअधिकार संरक्षणमा रुचि राख्ने एकल महिला हुन् । पहिले उनी घरेलु हिंसामा परेका महिलाहरूलाई आफ्नै घरमा राखेर अल्पकालीन सुरक्षा दिने गर्थिन् । त्यसो गर्दा पीडितहरूको गोपनीयता भंग हुन थालेपछि उनले आफ्नै नेतृत्वमा ११ जनाको कार्यसमिति बनाई २०७२ जेठ ३० गते जिल्ला प्रशासन कार्यालय, कैलालीमा यस्तो काम गर्ने गैरसरकारी संस्था दर्ता गरेकी हुन् ।

दुई छोरीकी आमा मलासीलाई २९ वर्षको उमेरमा श्रीमान् गुमाएपछि बेहोर्नुपरेको घरेलु हिंसाबाट आफूजस्ता पीडितहरूको लागि सुरक्षित गृह खोल्ने प्रेरणा मिलेको थियो । उनले आफ्नोे सबै समय र श्रम सुरक्षित गृहमै लगाएकी छन् । मुठी दानबाट चलेको यस गृहमा उनकी छोरी गीतासहितका पाँच जनाले निःशुल्क सेवा गर्दै आएका छन् ।

जोखिममा परेका महिला तथा बालबालिकाको अल्पकालीन आश्रयका लागि ओरेक नेपालले कैलालीमा २०६३ सालदेखि सुरक्षित आवास गृह सञ्चालन गर्दै आएको छ । सन् २०१७ को जनवरी यता ओरेकमा दर्ता भएका महिला विरुद्धका घरेलु तथा यौन हिंसासम्बन्धी ९७ वटा घटनामध्ये ३४ वटा घटनासँग सम्बन्धित पीडितहरूलाई गृहमा पठाइएको सो संस्थाले जनाएको छ ।

यस अवधिमा घरेलु हिंसाका ६१, मानव ओसारपसारसम्बन्धी एक, बहुविवाहको एक, जबर्जस्ती करणीका नौ, जबर्जस्ती करणी उद्योगका तीन, यौन हिंसाका आठ, सामाजिक हिंसाका सात, बोक्सी आरोपमा भएको हिंसाका आठ र अपहरणका नौ घटना ओरेक कैलालीमा दर्ता भएका थिए ।

तीमध्ये २१ घरेलु हिंसा, दुई बहुविवाह, ६ जबर्जस्ती करणी, एक जबर्जस्ती करणी उद्योग र चार यौन हिंसामा परेका पीडित महिला तथा बालबालिकालाई सुरक्षित अवास गृहमा राखिएको छ ।

मनिषा श्रेष्ठ (१८) ः एउटा प्रतिनिधि कथा

जन्मेको दुई महीनामै आमाले मलाई छाडेर दोस्रो बिहे गर्नुभएको ? त्यतिबेला बुबा विदेशमा हुनुहुन्थ्यो ? मलाई हजुरआमाले हुर्काउनुभएछ । म तीन वर्षकी हुँदा बुबाले विदेशबाट आएर मलाई पोखराको न्यू लाइफ बालगृहमा राखिदिनुभयो । ६ महीना बसेर फेरि विदेशै जानुभयो । त्यसपछि बुबासँग फोनमा सम्पर्क भइरहन्थ्यो । एक–दुई पटक उहाँले नेपाल आएर मलाई भेट्नु पनि भयो ।

आठ वर्षकी छँदा एक दिन मैले उहाँ विदेशमै बित्नुभएको खबर पाएँ । त्यसपछि म सधैंका लागि एक्ली भएँ । ११ वर्षको उमेरसम्म त्यही बालगृहमा बसें । नजिकैको इन्द्र राज्यलक्ष्मी माविबाट ७ कक्षा पास गरें । बालगृहमा सँगै बस्ने र मसँग एकदमै मिल्ने साथी यशोदा गिरीलाई एक अमेरिकी दम्पतीले धर्मपुत्री बनाएर अमेरिका लगेपछि म झन एक्लिएँ ।

त्यसबेला बालगृहमा ३५ जना थिए । म भन्दा ठूला दिदीहरू पनि थिए । बालगृह सञ्चालकले रातिराति बाहिरका केटा बोलाएर दिदीहरूको कोठामा पठाउँथे । एकदिन पुलिस आएर त्यहाँ छापा मा¥यो । त्यो दिनदेखि बालगृह बन्द भयो । त्यसका सञ्चालक पोखराकै टेकबहादुर थापा त्यसपछि कता गए मलाई केही थाहा भएन ।

शारीरिक रूपमा स्वस्थ बच्चालाई त्यहाँबाट अन्तै लगे । छाडिएका चार जना थियौं । पुस महीनाको जाडो मौसम थियो । पोखराकै रत्न चोकमा रहेको टुरिष्ट बसपार्कको सडक पेटीमा तीन दिनसम्म बस्यौं । सडकमा फालेका खानेकुरा खोजेर खायौं । हामी चारमध्ये धरानकी ११ वर्षीया मुस्कान ठकुरी र बाग्लुङकी १० वर्षीया रितु बरालको त्यहीं मृत्यु भयो । उनीहरूको लास उठाउन पनि कोही आएनन् । त्यसपछि म र साथी समीक्षा श्रेष्ठ त्यहाँबाट भाग्यौं ।

हाम्रो भेट अमृता गिरी नामकी एकजना दिदीसँग भयो । पोखराकै लामाचौरमा उनको होटल रहेछ । उनले हामीलाई त्यहीं लगिन् । पुगेकै दिन मेरी साथी समीक्षालाई एउटा केटा मान्छेले लिएर गयो । त्यसपछि ऊसँग मेरो भेट भएन । म चाहिं दुई वर्षसम्म त्यहीं काम गरेर बसें । दिनभरि होटलका भाँडा माझे बापत म बिहान–बेलुका खान पाउँथें ।

दुई वर्षपछिको एक दिन अमृताले आफ्नोे भाइ भन्दै मलाई एउटा केटाको जिम्मा लगाउँदै भनिन्, “तिमीलाई म कहिलेसम्म पाल्न सक्छु र १ अब ऊसँगै जाऊ । उसले तिमीलाई राम्रो काम खोजिदिन्छ ।” त्यतिबेला म १३ वर्षकी थिएँ । नयाँ काम पाउने आशाले खुशी भएँ ।

म त्यो केटासँगै होटलबाट निस्किएँ । उसले मलाई दिनभरि पोखराको महेन्द्रपुल बजार घुमायो । राति झयालै नभएको कोठामा लगेर श्रीमतीको जस्तो व्यवहार गर्न थाल्यो । चिच्याएर रोए पनि सुन्ने कोही थिएन । म सहन बाध्य भएँ ।

त्यसपछि महीनौंसम्म ऊसँगै बसें । उसको नाम सुवास थापा मगर रहेछ । घर धादिङ हो भन्थ्यो, बस्न चाहिं पोखरामै बस्थ्यो । ऊ केही काम गर्दैनथ्यो । दिनभरि बजार डुलेर साँझ् कोठामा फर्किन्थ्यो । म चाहिं ज्यालामजदूरी गर्थें । सँगै बस्दा बारम्बार झ्गडा पनि हुन्थ्यो । उसले एक दिन मलाई होटलवालीले एक लाख रुपैयाँमा बेचेको र म उसको श्रीमती भएकाले जे भन्यो त्यो सबै मान्नुपर्ने बतायो ।

केही महीनापछि उसले हप्तैपिच्छे नयाँ(नयाँ केटीहरू कोठामा ल्याउन थाल्यो । तिनीहरूसँग मेरै अगाडि शारीरिक सम्बन्धहरू राख्थ्यो । ती केटीहरू कहाँबाट आउँथे र फर्किएर कहाँ जान्थे मलाई केही थाहा हँुदैनथ्यो । उसले मलाई धेरै पिट्थ्यो । म सधैं सहेर बस्थें ।

एकदिन मैले सुवासलाई आफू गर्भवती भएको बताएँ । उसले तीन महीनापछि गर्भपतन गराइदियो । त्यसको केही दिनमै ऊ चोरी मुद्दामा पक्राउ प¥यो र थुनामा गयो । अदालतले उसलाई थुनामुक्त गर्न रु.२ लाख धरौटी मागेको रहेछ । मसँग ज्यालामजदूरीबाट कमाएको रु.३० हजार थियो । अरू रु.१ लाख ७० हजार ६ महीनामा तिर्ने कागज गरेर खोलाको ठेकेदार ज्ञानबहादुर गुरुङसँग ऋण लिएर धरौटी बुझई उसलाई जेलबाट छुटाएँ ।

ऊ छुटेको ६ महीनापछि म फेरि गर्भवती भएँ । त्यो कुरा सुनाउँदा उसबाट मैले नानाभाँतीका आरोप, गालीबेइज्जती र कुटपिट सहनुप¥यो । पेटको गर्भ दुई महीनाको हुँदा फेरि अर्को चोरी मुद्दा लागेर सुवास दोस्रो पटक जेल गयो । त्यतिबेला अदालतले धरौटीमा छुट्न पाउने सुविधा दिएन । दिएको भए पनि मसँग पैसा थिएन ।

म उसलाई भेट्न जेलमा जाँदा रिसाउँदै बारम्बार मानसिक यातनाहरू दिइरहन्थ्यो । मेरो पेटको बच्चा अरूकै भएको आरोप लगाउँथ्यो । मसँग पैसा मागेर झ्गडा गथ्र्यो । पैसा नदिएपछि उसले मेरो वास्ता गर्न छाड्यो ।

म आफैं ज्यालामजदूरी गरेर पालिन थालें । केही महीनापछि छोरी जन्माएँ । १४ महीनासम्म दुःखकष्टसाथ एक्लै डेरामा बसें । छोरी दुई वर्ष पुगेपछि जेलबाट छुटेको सुवासले अर्को विवाह ग¥यो । उसको साथ नपाएपछि मजदूरी गरेरै छोरी हुर्काएँ ।

त्यसबेला पोखरा औद्योगिक क्षेत्रमा पर्ने हिमालयन लाइफ नामको प्लाष्टिक कम्पनीमा काम पाएँ । एक दिन काममा जाँदा बाटोमा एउटा सीम कार्ड भेटें । त्यही कार्ड आफ्नोे मोबाइलमा हालेर हेर्दा कार्डमा सेभ गरेको एउटा नम्बर फेला प¥यो । त्यो नम्बरमा त्यही कार्डबाट फोन गरी सीमकार्ड आफूले भेटेको जानकारी दिएँ । त्यति गरेकै कारण जीवनमा अर्को पीडाको पहाड ममाथि थोपरिन पुग्यो ।

मैले फोन गरेको नम्बर कञ्चनपुर, गुलरियाको महुवाफाँटा निवासी आशिष चौधरीको रहेछ । ऊ सीमकार्ड लिने बहानामा मलाई भेट्न पोखरा आयो । मसँग प्रेम प्रस्ताव राख्यो । मैले अस्वीकार गरें तर उसले ढिपी नछाडेपछि बुटवल गएर मैले ऊसँगै विवाह गरें । त्यसपछि पोखरामा सँगै बस्न थालें । शुरूका ५ -६ महीना राम्रै रहेको सम्बन्ध त्यसपछि धागो चुडिय झै भयो ।

आशिष मलाई छलेर भाग्यो । २०७३ फागुनमा काखकी छोरी च्यापेर उसलाई खोज्दै पोखराबाट कञ्चनपुर पुगें । परिवारमै पुगेर उसलाई भेटें । त्यसबेला मेरो पेटमा उसको चार महीनाको गर्भ थियो । केटा र उसको परिवारले नराम्रो व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरें । प्रहरीले मिलापत्र गराइदियो । म त्यही घरमा बस्न थालें ।

एक महीना बस्दा मैले त्यहाँ विभिन्न शारीरिक र मानसिक यातना सहनुप¥यो । मलाई बोक्सीको आरोप लगाए । धामी लगाएर मन्तरेको चामल कपालमा छरिदिन्थे । मैले पकाएको खाना कसैले नखाने भए । चरित्रमाथि प्रश्न उठाउँदै नराम्रो गाली गर्थे । उनीहरू बसेको ठाउँमा बस्न जाँदा उठेर जान्थे । तैपनि मेरो जाने ठाउँ कहीं थिएन ।

एक दिन ज्वरो आएर थला परें । सासू र श्रीमान्ले उपचारको लागि सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरिदिए । अस्पतालले उनीहरूकै आग्रहमा मेरो गर्भपतन गराइदियो । रगत धेरै बगेपछि मलाई त्यहाँबाट सारेर आशा अस्पताल धनगढीमा तीन दिन राखियो ।

अस्पतालबाट फर्कंदा आशिष घर छोडेर बेपत्ता भइसकेको थियो । उसको विषयमा सोधखोज गर्दा सासूससुराले मलाई घरबाट निकालिदिए । मैले न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसाको उजुरी दिएकी छु । न्याय नपाउँदासम्मका लागि तीन वर्षकी छोरी लिएर महिला तथा बालबालिका सुरक्षित गृह अत्तरियामा बसिरहेकी छु । सीटीईभीटीबाट ब्यूटीपार्लरको तालिम लिएर आत्मनिर्भर बन्ने योजनामा छु तर मेरो नागरिकता छैन । भविष्यमा अझ् कति पीडा भोग्नुपर्ने हो, त्यो सम्झ्ँदा निरास छु ।

उन्नति चौधरीः खोज पत्रकारिता केन्द्र (बालबालिकाको नाम परिवर्तन गरिएको छ ।)

प्रतिक्रिया दिनुहोस्