Smiley face

इपिएल : उपाधि जित्न भैरहवालाई विराटनगरले दियो १ सय ५० रनको लक्ष्य

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) उपाधि जित्नका लागि विराटनगर वारियर्सले भैरहवा ग्याडिएटर्सलाई १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनायो।

ओपनर अंशुमन रथले ४१ रन बनाउनुबाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन। कप्तान पारस खड्काले २७ र अनिल साहले २२ रन बनाए।

प्रतियोगिताको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको बाबर हायात फाइनल खेलमा जम्न सकेनन्। उनी मात्र ११ रन बनाएर पेबिलियन फर्किए। अर्का ओपनर आशिफ शेख ७ रनमा आउट भए।

भैरहवाका हरिशंकर शाहले महत्वपूर्ण २ विकेट लिए। उनले अशंमन रथ र पारस खड्कालाई आउट गरेका थिए। कृष्ण कार्कीको नाममा २ विकेट रह्यो।

अघिल्ला दुवै खेलमा विराटनगरले भैरहवालाई पराजित गरेको थियो। विजेताले उपाधि सहित २१ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्