Wednesday 25th of April 2018

सरकार जनतालाई भरपर्दो शान्ति सुरक्षा व्यवस्थापन गर

पहिलो चरणको प्रतिनिधिसभा प्रदेशसभाको निर्वाचन करिव करिव छिटफुट घटनाका बावजुद निर्वाचन…शान्तिपुर्ण सम्पन्न भएको छ ।

पहिलो चरण निर्वाचन सकिएर दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा जनधनकै क्षति गराउने गरि बम विस्फोटका घटनाहरु बाक्लिँन थालेका छन। दाङको तुलसीपुरमा आयोजित चुनावी सभालाई लक्षित गरी गराइएको बम विस्फोटमा परी एक जनाको ज्याननै गएको अवस्था छ, थुप्रै घाइते भएका छन् । पहिलो चरणको मतदान शान्तिपूर्ण ढंगले सम्पन्न गराएको सरकारले शृंखलाबद्ध विस्फोटको निरन्तरताका कारण मतदानअघि–पछिको समयमा पनि सुरक्षा व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्ने अवस्था देखिएको छ।

चुनाव बिथोल्ने नियतले आमनागरिकलाई आतंकित पार्ने गरी बम विस्फोटका घटना निरन्तर भइरहँदा समेत कुनै पक्षले पनि जिम्मेवारी नलिनले आश्र्चाय हुन पुगेको छ । सरकारबाट पनि यसमा संलग्नबारे स्पष्ट धारणा सार्वजनिक हुन नसक्नुले आमनागरिकमा अन्यौन सृजना भएको छ । विगतको पृष्ठभूमि, शंकास्पद गतिविधि र चुनाव बहिष्कारका कारण नेत्रविक्रम चन्द नेतृत्वको नेकपा नै यसमा संलग्न रहेको अनुमान मात्र गरिनुले सरकार प्रति प्रश्न उठ्नु स्वभाविक हो । यसमा नेकपाको संलग्नता छैन भन्न सकिने आधार पनि छैन र सरकारले किटानी समेत गर्न सकिरहेको छैन । यतिबेला नेकपाको मौनताको फाइदा अर्को कुनै समूहले उठाउने जोखिम पनि कम खर्तनाक छैन । जसले जसरी र जुन उद्देश्यका साथ गरेको भए पनि व्यक्ति अंगभंग हुने र ज्यानै जाने गरी गराइएका यस्ता विस्फोट आपराधिक क्रियाकलाप गैर राजनितिक र भर्साना योग्य छन् । चुनाव विथोलेर आफ्नो राजनितिक अविष्ठ पुरा गराउन खोज्नुले शदियौ देखिको पुरा हुन नसकेका जनताका अधिकारलाई संस्थागत गराउने प्रयासलाई असफल गराउने उदण्डता मात्र हो ।
विस्फोट उम्मेदवार र चुनावी सभा लक्षित छन् । उम्मेदवार चढेको गाडी, उनीहरूको घर र सभालाई लक्षित गरेर विस्फोट गराइएका छन् । दाङको तुलसीपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्न लागेको सभामै मंगलबार विस्फोट भयो जुन घटनामा म्यादी प्रहरी २३ वर्षीय विनोद चौधरीको ज्यानै गएको छ भने नौ जना घाइते भए । बुधबार मात्रै उदयपुरको दनुवारबेसीमा विस्फोट हुँदा कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्कीसहित सात जना घाइते भएका छन् । कार्की चढेको बा१५च ७८०६ नम्बरको जिप विस्फोटमा परेको हो । चुनावी प्रचारप्रसार बाक्लिँदै जाँदा विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्रीलाई समेत लक्षित गरी विस्फोट गराइएका छन् । प्रधानमन्त्री र मन्त्री उपस्थित सभा र सवार गाडी विस्फोटको निसानामा पर्नुले राज्यको सुरक्षा व्यवस्थापन कति कमजोर रहेछ भन्ने देखाउँछ । यसले खासगरी सुरक्षा निकायको सूचना संयन्त्रमाथि प्रश्न खडा गरेको छ । चुनावविरोधी गतिविधिमा लागेको आरोपमा थुप्रै पक्राउ परे पनि विस्फोट गराउने क्रियाकलापमा संलग्न अधिकांश व्यक्ति सुरक्षा निकायको आँखा छल्दै सुरक्षीत स्थानमा जानुले सुरक्षा कर्मिहरु कमजोरीको उजागार गरेको छ।
चुनावलक्षित विस्फोटका घटना नियन्त्रण हुनुको साटो बढ्दै जाँदा सरकार उति गम्भीर छैन कि भन्ने संशय गर्नुपर्ने अवस्था पनि छ । सरकारको गम्भीरतामाथि प्रश्न गर्ने ठाउँ किन पनि छ भने यो संवेदनशील घडीमा समेत शान्तिसुरक्षा व्यवस्थापनमा प्रमुख जिम्मेवारी निर्वाह गर्ने गृह मन्त्रालय स्वतन्त्र राजनीतिक नेतृत्वविहीन छ । गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैंले लिएका छन् तर पार्टी सभापति एवं प्रतिनिधिसभाको उम्मेदवारसमेत रहेकाले उनले गृहलाई दिइनु पर्ने निर्देशनको अभाव देखिएको छ । आम नागरिकमा आतंक सिर्जना गर्ने गरी विस्फोट भइरहेको सन्दर्भमा आसन्न चुनावमा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन पनि प्रधानमन्त्री देउवाले सक्षम व्यक्तिलाई गृहमन्त्री तोक्न अब ढिलाई गर्नु हुर्दैन । गृह मन्त्री जनार्दन शर्मालाई विना विभागिय बनाएर प्रधानमन्त्रीले ठूलो भुल गरेका छन । भएको मन्त्रीलाई विना विभागीय बनाउने र अर्को मन्त्री नतोकि आफै गृह मन्त्रालयको जिम्मेवारी लिनु प्रधानमन्त्रीले आफु वाहेक अरुलाई विश्वास नगर्नुले अहिलेको समस्या आएको हो ।
सरकारले अहिले सिर्जित सुरक्षा चुनौती सामना गर्न सुरक्षा रणनीति बदल्नुपर्छ । आतंक फैलाउने यस्ता क्रियाकलाप नियन्त्रणमा दृढताका साथ अघि बढ्दै आम नागरिकमा शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्त र भयरहित वातावरणमा सफल पार्न सरकार र प्रधानमन्त्री समेत गम्भीर बन्नु अहिलेको आबश्यकता हो ।यदि समयमा सरकार गम्भीर नहुने हो भने ठुलै धनजनको क्षति नहोला भन्न सकिने अवस्था छैन । त्यसैले सरकार र सुरक्षा निकायले चुनाव जितहार भन्दा नागरिकको सुरक्षामा बढी ध्यान दिनु पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्


Shares