Smiley face

“म गुट–उपगुट निर्माण गर्ने व्यक्ति होइन”

माधवकुमार नेपाल
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता
काठमाडौँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभाका उम्मेदवार

काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा फरक गुट बनाएर हिँड्ने गरेको भन्दै उहाँको आलोचना हुँदै आएको छ। छुट्टै समूह निर्माण गरेर भागवण्डाका लागि गुटबन्दी गरिरहेको आरोप उहाँले खेप्दै आउनुभएको छ। अहिले सहज स्थितिका कारण काठमाडौं–२ मा उहाँले उम्मेदवारी दिएको चर्चा पनि चलिरहेको छ। पार्टीको आन्तरिक गुटबन्दी, नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता र आफू होमिएको निर्वाचन क्षेत्रको विकासका योजनाका बारेमा  सन्तोष खनालले उहाँसँग गरेको कुराकानीको सारसंक्षेपः

तपाईंलाई पार्टीले रौतहट छाडेर काठमाडौं क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउनुको कारण के होला भन्ने लाग्छ ?

म रौतहटमा जन्मिएँ, हुर्किएँ। तर, पार्टीको विभिन्न जिम्मेवारी निर्वाह गर्ने क्रममा मैले धेरै लामो समय तराई र काठमाडौं दुवैलाई आफ्नो कर्मथलो बनाउँदै आएँ। म ३४ वर्षदेखि काठमाडौं–२ मा पर्ने कोटेश्वरको बासिन्दा हुँ। यद्यपि, राजनीतिमा को–कहाँ जन्मियो, हुर्कियो भन्ने कुराभन्दा पनि उसले निष्ठाकासाथ के–कति योगदान पुर्यायो, जनताको हितमा कति समर्पित भयो, सामाजिक, आर्थिक परिवर्तनमा र सिंगो राष्ट्रको विकास निर्माणको अगुवाइ गर्ने सन्दर्भमा कति योगदान पुर्यायो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यी सबै सन्दर्भमा म काठमाडौं–२ का जनतासँग जनप्रतिनिधिकै हैसियतमा प्रत्यक्षरूपले गाँसिँदै आएको छु। त्यसैले पार्टीले यी सबै पक्षको मूल्यांकन गरेर नै मलाई काठमाडौं–२ को उम्मेदवार बनाएको हो भन्ने मलाई लाग्दछ।

तपाईं सहज स्थितिका कारण काठमाडौं–२ मा उठेको भन्ने चर्चा पनि छ नि, के भन्नुहुन्छ ?

हा…हा…(हाँस्दै) मैले तपाईंको अघिल्लो प्रश्नमै कतिपय कुरा प्रस्ट पारिसकेको छु। त्यसैले सहज स्थितिका कारण काठमाडौं–२ रोजेको भन्ने मिथ्या आरोपको खण्डनमण्डन गर्नुपर्छ भन्ने मलाई लाग्दैन। हामीले पार्टीको संस्थागत निर्णय मान्ने हो। हिजो पार्टीले दुई वटा निर्वाचन क्षेत्रबाट निर्वाचित उम्मेदवारले बढी मतान्तरमा जितेको निर्वाचित क्षेत्र छाडेर कम मतान्तरमा जितेको क्षेत्र नछाड्ने नीति लियो। पार्टी प्रमुख भइसकेको व्यक्ति तराईबाट निर्वाचित भएकाले राष्ट्रिय सन्देशका हिसाबले तत्काल रौतहट छाड्न नहुने स्थायी समितिले निर्णय गर्यो।

त्यसैले करिब १० हजार मतान्तरमा विजयी बनेको काठमाडौं–२ कानुनी र प्राविधिक हिसाबले छाडेको हुँ। तर, क्षेत्र नम्बर–२ का जनताको विश्वास जितेको जनप्रनिधिको हैसियतमा यहाँका समस्या समाधान गर्ने, विकास निर्माणका काममा अगुवाइ गर्ने मात्र होइन, भावनात्मकरूपमा पनि म कहिल्यै पनि अलग भइनँ। क्षेत्रको विकास निर्माणको अगुवाइ गर्ने सन्दर्भमा, प्रत्येक वडा–टोलबासी जनतासँगको प्रत्यक्ष भेटघाट, समस्या समाधानका लागि पहल लिने कुरामा म निरन्तररूपमा लाग्दै आएको छु। रौतहटको विकास निर्माणको काममा पनि उत्तिकै क्रियाशील छु। मेरो चिन्ता र सपना आर्थिकरूपले सम्पन्न समृद्ध मुलुक निर्माण गर्ने हो, साथै काठमाडौं–२ लाई नमुना क्षेत्रका रूपमा विकास गर्ने हो। यस काममा म हिजो पनि क्रियाशील थिएँ, आज पनि छु र भोलि पनि निरन्तररूपमा क्रियाशील रहनेछु।

तपाईंलाई चुनाव जिताएर काठमाडौं क्षेत्र नम्बर २ का जनताले के पाउँछन् ? विकासका योजनाहरू के–के छन् ?

हामीले संविधान निर्माणपश्चात् राजनीतिकरूपमा युगान्तकारी परिवर्तन गरेका छौं। अब आर्थिक, सामाजिक रूपान्तरणसहितको समृद्ध मुलुक निर्माण गर्ने अर्को चरणमा हामी प्रवेश गरेका छौं। काठमाडौं–२ ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पयर्टकीय दृष्टिले सम्पन्न क्षेत्र हो। म प्रधानमन्त्री भएको बेला सडक विस्तार, पूर्वाधार विकास, प्राविधिक शिक्षालय, पोलिटेक्निक कलेजको स्थापनालगायतका धेरै काम भएका छन्। भूकम्पपछि क्षत–विक्षत बनेको साँखु क्षेत्रको ऐतिहासिक पुरातात्त्विक सम्पदाको संरक्षण र विकासका लागि पुनर्निर्माणलाई तीव्रता दिनेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ।

शंखरापुर–साँखु राजधानी काठमाडौंलाई चीनको तिब्बतसँग जोड्ने महत्त्वपूर्ण ऐतिहासिक पुरानो व्यापारिक नाका पनि हो। त्यहाँको सडकलाई चीनसम्म विस्तार गर्ने, साँखुमा भृकुटीको ठूलो मूर्ति स्थापना गरेर आन्तरिक र बाह्य पयर्टकको आकर्षण केन्द्र बनाउने, शालिनदीको संरक्षण गर्दै ऐतिहासिक धार्मिक र पयर्टकीय नगरका रूपमा विकास गर्ने, नाङ्लेभारे–जहरसिंहपौवा–लप्सीफेदी क्षेत्रलाई ‘कृषि उत्पादन जोन’ का रूपमा संरक्षित गर्दै विकास गर्ने, यो क्षेत्रलाई पयर्टकीय गन्तव्यस्थलमा परिणत गर्ने, कागेश्वरी, मनोहरा र शंखरापुर नगरपालिकालाई आधुनिक ‘स्याटलाइट स्मार्ट सिटी’ का रूपमा विकास गर्ने, मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम छिटो सम्पन्न गर्ने, एयरपोर्टको जग्गा अधिग्रहणमा परेका पुरानो सिनामंगल र जडीबुटी क्षेत्रका जनतालाई छिटोभन्दा छिटो उचित मुआब्जासहित पुनस्र्थापित गर्ने मेरो योजना रहेको छ।

त्यस्तै, तिनकुनेको जग्गाको उचित मुआब्जा दिलाउने, कोटेश्वर क्षेत्रको खानेपानीलगायतको समस्या समाधान गर्ने, मनोहरा कोरिडोर निर्माण सम्पन्न गरी हरित क्षेत्रका रूपमा विकास गर्ने, प्रत्येक वडा र टोलका सार्वजनिक जग्गाहरुमा वृद्धवृद्धाका लागि चिकित्सा सेवासहितको आश्रम, बाल उद्यान निर्माण गर्ने, यस क्षेत्रको उपयुक्त स्थानमा आधुनिक चिकित्सा सेवासहितको अस्पताल निर्माण गर्ने, मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार गर्दै २ नम्बर क्षेत्रका जनतालाई मेलम्चीको खानेपानी उपलब्ध गराउन पहल गर्नेलगायतका विषयलाई मैले योजनाका रूपमा अघि सारेको छु।

प्रतिस्प्रर्धीभन्दा तपार्इं के कारणले अब्बल ? तपार्इंले जित्नै पर्ने कारणहरू के–के छन् ?

सवाल अब्बल र कमसल भन्ने होइन। सवाल यस क्षेत्रको विकासका निम्ति र समग्र मुलुककै विकासका निम्ति को आश्यक भन्ने हो। मेरो जीवन खुला किताबजस्तै छ। म निष्ठा, इमान्दारिता, पारदर्शिता, सक्रियता र स्वाभिमानमा विश्वास गर्ने व्यक्ति हुँ। जनविरोधी क्रियाकलापसँग आजसम्म सम्झौता गरेको छैन। राजनीतिक यात्रामा अनेकन घुम्ती पार गर्दै पार्टी र मुलुकको नेतृत्वसमेत सम्हालिसकेको छु। को आवश्यक छ भन्ने पैmसला यस क्षेत्रका जनताले नै दिनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। म निस्क्रिय होइन, निरन्तर सक्रिय जीवन बिताउने गतिशील मान्छे हुँ। समयको प्रवाहसँगै जनताको जीवनस्तरमा परिवर्तन हुनुपर्छ भन्ने मान्यता राख्दछु। जनताको हरेक दुःख–सुखसँग गँँसिन चाहन्छु। अहिले वाम गठबन्धनको चुनाव परिचालन कमिटीले निर्वाचनको प्रचार अभियान अघि बढाइरहेको छ। यस क्रममा चुनावी घरदैलो पनि उत्साहजनक ढंगले अघि बढिरहेको छ। वृद्ध बाआमा, दिदीबहिनी–दाजुभाइहरुले भावी दिनमा मुलुकलाई सफल ढंगले नेतृत्व गर्ने आशिरवचन दिइरहनुभएको छ। उहाँहरूको त्यस्तो प्रेम र सद्भावलाई मैले हृदयदेखि नै स्वीकारेर चुनावी अभियान अघि बढाइरहेको छु।

तपाईंहरूले घोषणापत्रमा धेरै कुरा उल्लेख गर्नुभएको छ। धेरै सपना बाड्नु पनि भएको छ। के ती सबै घोषणा कार्यान्वयन गर्न सक्नुहुन्छ ?

सपना बाँड्ने मात्र होइन, विपनामा परिणत गर्ने हो। हामीले गरेका सबै घोषणा कार्यान्वयन गर्नका लागि हुन् र बाँडेका सपना सबै विपनामा साकार पार्नका लागि हुन्। हामीले गरेर देखाउने छौं।

म प्रस्टसँग भन्न चाहन्छु हामी आर्थिक उदारीकरणका डम्फू बजाएर देशका उद्योग–धन्दा र कलकारखानाहरु कौडीका रूपमा बेच्ने, देशको स्वाभिमान समाप्त पार्ने, लाखौं युवाहरुलाई खाडी मुलुकको चर्को घाममा श्रम गर्न पठाउने, दलित, भूमिहीन, सुकुम्बासी, हलियाहरुलाई सधैं बँधुवा मजदुर बनाउने लोकतन्त्रको विपक्षमा छौँ।

के बजारमा चर्चा भएजस्तै तपाईंहरूले साम्यवादी व्यवस्थाका लागि वामपन्थी गठबन्धन गर्नुभएको हो ?

अधिनायकवाद वा साम्यवादी गठबन्धनको यो आरोप केवल पराजित र हतास मानसिकताको अभिव्यक्ति मात्रै हो भन्ने मलाई लाग्दछ। के हामीले पनि कांग्रेसको जस्तै लोकतन्त्रको नारा जपेर नागरिक सधैं गरिब, तर मुठीभरका व्यक्तिमात्रै धनी र सुखी हुने लोकतन्त्रको व्याख्या गर्नुपर्ने ? हामी सबै नेपाली धनी र सम्पन्न हुने सामाजिक न्यायसहितको लोकतन्त्र स्थापित गर्न चाहान्छौं। म प्रस्टसँग भन्न चाहन्छु हामी आर्थिक उदारीकरणका डम्फु बजाएर देशका उद्योगधन्दा र कलकारखानाहरू कौडीका रूपमा बेच्ने, देशको स्वाभिमान समाप्त पार्ने, लाखौं युवालाई खाडी मुलुकको चर्को घाममा श्रम गर्न पठाउने, दलित, भूमिहीन, सुकुम्बासी, हलियाहरुलाई सधैं मजदुर बनाउने लोकतन्त्रको विपक्षमा छौं।

जमिनको वर्गीकरण, कृषिको आधुनिकीकरण गरेर उत्पादकत्व बढाउँदै समुचित वितरण प्रणाली स्थापित गर्ने, देशलाई समुन्नत बनाउने लोकतन्त्रको पक्षमा छौं। मानव अधिकारको विश्वव्यापी घोषणापत्र लोकतन्त्रका अन्तर्राष्ट्रिय मूल्य–मान्यतालाई व्यावहारिकरूपमै स्थापित गर्न चाहन्छौं। शिक्षा नीतिमा आमूल परिवर्तन गर्दै देशको आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्ने, शिक्षालाई श्रम, सीप र रोजगारसँग जोड्ने अभियानमा छौं, योजनामा छौं। त्यसैले कांग्रेसका नेताहरु वाम गठबन्धनबाट भयभित हुनुभएको छ। म उहाँहरुलाई पराजित मानसिकताले विक्षिप्त बनेर होइन, आफ्ना नीति कार्यक्रम र योजनाका आधारमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन आह्वान गर्दछु।

म चुनौतीका साथ भन्न चाहन्छु– आउनुस्, छलफल गरौं नीति र व्यवहारमा को लोकतन्त्रवादी ? गणेशमान र कृष्णप्रसाद भट्टराईजस्ता त्यागी र स्थापित नेतालाई पार्टीमा सम्मानजनक व्यवहार गर्न नसक्ने, लोकतन्त्रलाई दरबारमा बुझाउने कांग्रेससँग हामीले अब लोकतन्त्रको प्रमाणपत्र लिनुपर्ने ? उहाँहरु कुन मुलुकको ? कुन विद्वानको लोकतन्त्र अनुशरण गर्न खोज्दै हुनुहुन्छ ? हतास बनेर होइन, धैर्य र शान्त मुद्रामा खुला बहसमा आउन म चुनौती दिन चाहन्छु।

पार्टी एकता सम्भव छ ? कि चुनाव जित्नका लागि मात्र पार्टी एकताको नौटंकी भएको हो ?

पार्टी एकता सम्भव छ। शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाबाट समाजवादसम्म पुग्ने भन्ने तय भइसकेको छ। चुनावलगत्तै विगत आन्दोलनको समीक्षा र बाँकी सैद्धान्तिक प्रश्नहरुको हल गर्नुका साथै सांगठनिक संरचनामा कुरा मिल्ने बितिक्कै एकीकरण सम्पन्न हुनेछ।

एमाले नै एकढिक्का छैन, माओवादीमा पनि त्यस्तै छ। अब दुवै पार्टी मिसिएपछि राप्रपाको हालत पो हुने हो कि ?

हामी दुई ठूला कम्युनिस्ट पार्टी निक्कै लामो अनुभव, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषणसहित एउटै कम्युनिस्ट पार्टी निर्माण होस् भन्ने जनताको चाहना र हाम्रो योजना पूरा गर्न एकढिक्का भएका हौं। सैद्धान्तिकरूपमा एक ठाउँमा उभिसकेपछि को–कहाँ रहने ? कसको के भूमिका रहने भन्ने कुरा गौण कुरा हो। जीवन्त पार्टीमा यस्ता धेरै विषय र प्रश्नहरु व्यक्तिको सक्रियता र पहलकदमीले पनि हल हुँदै जानेछ।

त्यसैले एकीकरणपछि कुनै ठूलो समस्या देखिन्छ भन्ने मलाई लाग्दैन। नेपालको कम्युनिस्ट आन्दोलन विभाजन र एकीकरणको प्रक्रियाबाट नै यहँँसम्म आइपुगेको छ। एमाले र माओवादी केन्द्रले पार्टी जीवनमा यस्ता अनिगिन्ती अनुभव हासिल गरिसकेका छन्। धेरै पार्टीबाट होइन, कमभन्दा कम पार्टीबीचको प्रतिस्पर्धाबाट अघि बढ्ने परिस्थिति निर्माण हुँदै गएको छ। त्यसैले खासै समस्या हुन्छजस्तो मलाई लाग्दैन।

पार्टीभित्र तपाईं त्यति सन्तुष्ट हुनुहुन्न भन्ने चर्चा सुनिन्छ। तपार्इंका भनाइ र गराईले नै पनि बेला–बेला त्यस्तै कुराको संकेत गर्छ। के हो वास्तविकता ? प्रस्ट पारिदिनुहोस् न।

हेर्नुस्, म कहिले पनि व्यक्ति केन्द्रित भएर चल्ने मान्छे होइन। म पार्टी, देश र जनताको हितमा चिन्तनशील र क्रियाशील हुने स्वभावको व्यक्ति हुँ। पार्टीका बैठकहरुमा कुनै पनि विषय र एजेन्डामा फरक–फरक विचार प्रकट हुने कुरालाई म अन्यथा ठान्दिनँ। पार्टी सञ्चालन गर्ने सन्दर्भमा, विधि र पद्धति अवलम्बन गर्ने कुरामा जोड–कोणमा देखिएका कमजोरीलाई म पार्टीभित्र खुलस्त ढंगले राख्ने गर्छु। तर, पार्टीले निर्णय गरिसकेपछि अगुवाइ गर्ने कुरामा म सधैं नेतृत्वदायी भूमिकामा हुन्छु।

तपाईंमाथि छुट्टै समूह निर्माण गरेर भागवण्डाका लागि गुटबन्दी गरिरहेको आरोप पनि लाग्ने गरेको छ। यसमा के भन्नुहुन्छ ? 
कसैले त्यस्तो आरोप लगाइरहेको छ भने त्यो मिथ्या आरोप हो। त्यसमा कुनै सत्यता छैन। म पार्टीमा गुट निर्माण गर्ने स्वभावको व्यक्ति नै होइन। मैले कहिल्यै पनि आफूलाई केन्द्रबिन्दुमा राखेर गुट निर्माण गरिनँ। पार्टी सञ्चालन गर्ने सन्दर्भमा गुटबन्दी ‘महारोग’ हो भन्ने मान्यतामा म सधैं प्रस्ट छु। म पार्टी प्रमुख रहँदा जहिले पनि पार्टीलाई सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी, संस्थागत निर्णयका आधारमा सञ्चालन गरेको छु। यही मान्यताका साथ पार्टी सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा म सधैं उभिएको छु। जुनसुकै निर्णयमा पनि आन्तरिक लोकतन्त्रको पक्षलाई बलियो बनाउँदा मात्र पार्टी बलियो बन्छ भन्ने मान्यतामा उभिएकै कारण गुटबन्दी गर्यो भन्नेहरुको दृष्टिदोषप्रति म कुनै टिप्पणी गर्न चाहन्नँ।

अन्त्यमा नेपाल समाचारपत्रमार्फत गलत राजनीतिक गतिविधिबाट आजित भएका आम जनतालाई के भन्न चाहनुहुन्छ ?

हामीले मुलुकमा ठूलो राजनीतिक परिवर्तन गरेका छौं। अब मुलुकमा राजनीतिक स्थिरता कायम गरी आर्थिक, सामाजिक रूपान्तरणको महाअभियान सञ्चालन गर्नु छ। त्यस महाअभियानलाई सफलीभूत पार्नका निम्ति कायम भएको वाम गठबन्धनलाई आफ्नो अमूल्य मत दिएर अत्यधिक बहुमतका साथ विजय गराउनुहुन सबैमा हार्दिक आह्वान गर्दछु।

-नेपाल समाचारपत्रबाट साभार

प्रतिक्रिया दिनुहोस्