Smiley face

माओवादीको डरले भाग्दा ड्राइभर भइयो – वीरबल विक

(भागेको मान्छे कहाँसम्म पुग्न सक्ला ? अझ पृथ्वी गोलो छ । जहाँ गएपनि चाह्यो भने जसले पनि भेट्टाउन सक्छ । तर काभ्रे कोशीपारीका वीरबल विकले सोचे कि म भागेपछि माओवादीले भेट्ट्याउने छैन । सशस्त्र द्वन्द्वका बेलामा माओवादीले ‘एक घर एक व्यक्ति’ लाल सेनामा भर्नाको नियम लगाएपछि भागाभाग चल्न थाल्यो । ७ कक्षा पढ्दै गरेका विक पनि भागेर काठमाडौं आए । माओवादीको डरले भागेका विक ड्राइभर भए । २९ वर्षे वीरबलको कथा रोचक छ । बा ४ ख ६६६६ नम्बरको बसका चालक वीरबलसंग सडक पाइलटसंगको अन्तर्वार्ताको यो मुख्य अंश–संपादक)

गाडी लाइनमै आएको कति भयो नि ?
–भयो होला १७ वर्ष जति ।

 

कलिलै उमेरमा छिर्नुभएछ त ?
–माओवादीले अपहरण गर्छ भन्ने डरले भागेर आएको । भाग्दाभाग्दै ड्राइभर पो भइयो त ।

 

के कारणले भाग्नुभयो ?
–काभ्रेको कोशीपारी भनेपछि माओवादीको बिगबिगी हुने ठाउँ । ७ कक्षामा पढ्दै थिएँ । अनि एक घर एक व्यक्ति माओवादीले लाने भन्न थाले । असुरक्षित ठानियो । गोली खान जानुभन्दा भाग्नु वेश भनेर भागें । लालसेनामा भर्ना गर्न स्कूलबाटै विद्यार्थी लैजाने गर्दथे । अनि साइला भन्ने थिए । उनीसंग भागियो । उनी मलेसिया गएर आए । म यतै अड्किएँ ।

 

के के गर्नुभयो ?
–भागेर काठमाडौं आएपछि भक्तपुरमा मिठाइ पसलमा काम गरें । ६ महिना जति काम गरें । महिनाको खान बस्न दिएर तीन सय रुपैयाँ पनि दिन्थ्यो । एक दिन एकजना दाइले गाडीमा खलासी बस्यो भने पैसा धेरै हुन्छ भन्न थाल्नुभयो । मलाई पनि हो कि के हो भन्ने लाग्यो । अनि खलासी बस्न थालें । दिनको ५० रुपैयाँ पाएँ । खाना खाजा गरी ५० रुपैयाँ पाएपछि मेरो जीवन बदलियो । कहाँ ३०० रुपैयाँ कहाँ १५००। रुपैयाँ । अनुभव बढ्दै गएपछि त पैसा पनि मार्न थालियो । अनि कमाइ राम्रो हुन थाल्यो ।

 

निरन्तर काम गर्नुभयो ?
–निरन्तर त गरिन । घर पनि जाने गर्दथें । होटलमा काम गरेपछि घर गएँ । बुबाआमा खुशी हुनुभयो । अब कतै जानु पर्दैन यहीं बस् भन्नुहुन्थ्यो । तर, म फेरि काठमाडौं आएँ ।

 

माओवादीले लगेन त पछि ?
–लगेन । माओवादीले लैजाने भनेको साथीभाइको संगतले हो । म घर जाँदा आफूले चिनेका कोही पनि थिएनन् । त्यसैले नचिनेकोले लैजाने कुरा भएन ।

 

तपाईका जातमा त खुवै आँखा लगाउँथे नि माओवादीले हैन ?
–हो, लगाउँथे । म त भागेको परें नि । एकजना पम्फा विक भन्ने दिदी हुनुहुन्थ्यो । उहाँ जानुभयो । तर मारिनु भयो । परिवारलाई अझै पनि पैसा आइराखेकै छ । उहाँ मरे पनि परिवारलाई भने आर्थिक लाभ भएको छ ।

 

त्यसपछि तपाईले के गर्नुभयो ?
–म काठमाडौंमै रमाउन थालें । पाँच वर्ष त मैले खलासी नै काम गरें । चार वर्ष एउटै गाडीमा खलासी गरें । राम्रै कमाइ गरें । गाउँमा घर बनाइयो । कृषि गर्नका लागि जग्गा किनियो । अहिले काम छोडेर घर गए पनि त्यहींको कृषिले खान पुग्छ ।

 

अनि पछि के गर्नुभयो ?
–मैले पाँच वर्ष खलासी बसेपछि गाडी चलाउन थालें । उही साहुकैमा गाडी चलाउन थालें । साहु बदल्ने बानी छैन । गाडी भने ८ वटा फेरिसकेको छु ।
के रहेछ त ड्राइभरको जिन्दगी ?
–ठीकै छ ड्राइभरको जिन्दगी । कन्ट्रोल गर्न सके राम्रो हो । देश अनुसार ठीकै छ भन्नुप¥यो ।

 

अहिले कमाइ कस्तो छ ?
–अहिले पहिले जस्तो कमाई छैन । ठीकै मात्र छ । घर खर्च चल्छ । त्यसैले त परिवार गाउँमै छन् । २ छोरा र १ छोरी छन् । अब उनीहरूलाई पढाउने बारे सोच्दैछु ।

 

भोलि के गर्ने सोच छ ?
–अब जानेकै यही पेशा हो । अरु त के नै गर्न सकिन्छ र ? पैसा कमाएको भए गाडी किन्नुहुन्थ्यो । त्यो सम्भव नै छैन । त्यसैले एक पटक विदेश पो जाने मन छ ।

 

राजनीतिमा कत्तिको रुची छ ?
–रुची पटक्कै छैन । तर, माओवादीलाई समर्थन छ ।

 

माओवादीलाई नै ?
–माओवादीले जितेर सरकार चलाउन थालेपछि सबैले माओवादी भन्न थाले । अहिले सबै माओवादी । त्यतिबेला जिम्मेवारी लिने बेलामा लुक्थे । म पनि लुकेकै थिएँ । मैले अहिलेसम्म भोट हालेको छैन । अब हाल्नुपर्छ । यही पार्टी नै भन्ने छैन । आफ्ना साथीभाइ उठेका छन् । उनीहरूलाई मत दिनुपर्छ ।

 

गाडीलाइन कस्तो छ नि ?
–ठीकै छ । त्यसैले त हाम्रा त तीन भाइ नै यही पेशामा छौं । म जेठो हुँ । म आएपछि अरु भाइ पनि आए ।

 

गाडी चलाउन काठमाडौंमा कत्तिको सजिलो छ ?
–खासै छैन । बाटो साँघुरो छ । ट्राफिक जाम हुन्छ । ट्राफिक प्रहरीले पनि चाडबाड आयो भने दुःख दिन्छ । चिट काटिहाल्छ । पहिले सीधै सहयोग गर्नुस् भन्थे । अहिले त गाडीमा चिट र ट्रकबाट यसो पैसा खाने गर्छन् ।

साँघु

प्रतिक्रिया दिनुहोस्